[ डिबी शर्मा ]
काठमाडौं := देश छोडेर बाहिरिने सायदै कसैको रहर होला । हर कोहीको चाहना हुन्छ सकेसम्म गाउँघर र देशमै केही गरेर गुजारा चलोस् । घरपरिवारसँगै बसेर जीवन चलाउने धेरैको चाहना पूरा हुँदैन । देशमा रोजगारी र जीवन धान्ने उपाय नभएपछि बाध्यताले विदेशिनुपर्ने अधिकांशको विवशता हो । तर, बाध्यतामा विदेशिन लागेकाहरूले सहजै देश छोड्न पनि पाउँदैनन् ।
उनीहरूले राहदानी बनाउनदेखि सास्ती खेप्नुपर्छ । त्यो सास्ती म्यानपावर खोज्नेदेखि उनीहरूलाई बुझाउने ऋण खोज्नसम्म हुन्छ । सास्ती यत्तिमै सकिँदैन । ऋणको भारी बोकेर विमानस्थल पुगेका उनीहरू सहजै देश छोड्नसमेत पाउँदैनन् । विमानस्थल कार्यालयले उनीहरूलाई उड्नै नदिई फर्काइदिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विदेशिने कतिपय कामदारलाई ‘अनावश्यक दुःख’ दिने गरेको गुनासो प्रशस्तै सुनिन्छ ।
विमानस्थलस्थित अध्यागमन कार्यालयले बुधबार बेलुका ठूलो संख्यामा वैदेशिक रोजगारका लागि विभिन्न देश हिँडेका कामदारलाई फर्काएको थियो । फर्काइएकाहरूमा निलकमल ह्युमनबाट गएका २४ जना, इन्डेक्स म्यानपावरबाट गएका ४७, युथ म्यानपावरबाट गएका ३२ र सुलभ म्यानपावरबाट गएका चारजना छन् ।
ती कामदारलाई शंकाकै आधारमा अस्पष्ट पत्र थमाएर विमानस्थल कार्यालयले प्रस्थान अनुमति नदिई फिर्ता गरिदिएको म्यानपावर कम्पनीको आरोप छ । दुई साताअघि पनि विमानस्थल कार्यालयले यसरी जोर्डन हिँडेका २० जना महिला कामदारलाई प्रमाण नपुगेको भनेर फर्काएको थियो । तर, ती महिला कामदारसँग भिसा र आवश्यक कागतजात सबै थिए ।
उनीहरूलाई वैदेशिक रोजगार विभागको पहलमा केही दिनपछि फेरि जोर्डन पठाइएको थियो । विमानस्थलबाट फिर्ता पठाइएका पीडितहरूबाट प्राप्त प्रमाणको आधारमा उनीहरू विभिन्न म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारमा जान लागेका थिए । कामदारहरूको भिसा जो कोहीले भेरिफाई गर्न सक्छ । उनीहरूले संस्थागत रूपमै श्रम स्वीकृति लिएको पाइएको छ ।
कागजात शंकास्पद भन्दै वैदेशिक रोजगारमा जाने ११० जनालाई विमानस्थलले अनावश्यक दुःख दिएको वैदेशिक रोजगार व्यवसायीहरूको आरोप छ । विमानस्थलका कारण उनीहरूको ‘ननरिफण्डेबल टिकट’ खर्च भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो ।
‘कागजात शंंकास्पद’ हुनसक्ने अनुमानकै भरमा वैदेशिक रोजगारमा उड्न विमानस्थल पुगेका उनीहरूलाई फर्काउनु स्वाभाविक नभएको उहाँको भनाइ छ । विमानस्थलबाट फर्काइएका कामदारको कागतजात प्रक्रिया पुगेका भए पनि अध्यामागमन कार्यालयले शंकाकै आधारमा फर्काएको उनीहरूको आरोप छ । व्यवसायीहरूले यसबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायको ध्यानाकर्षण गराएका छन् ।
वैदेशिक रोजगार विभागले भने यसबारे विमानस्थलस्थित अध्यागमन कार्यालयमा बुझ्ने काम भइरहेको जनाएको छ । विभागका महानिर्देशक मदन दाहालले कामदार रोकिएको विषयमा अध्यागमन कार्यालयका सम्बन्धित व्यक्तिसँग बुझ्ने काम भइरहेको बताउनुभयो । श्रम स्वीकृति लिएर हिँडेका कामदार के कारण रोकिए भन्ने विषयमा अनुसन्धान हुने उहाँको भनाइ छ ।
सेटिङ नमिलेपछि अनावश्यक दुःख
सबै प्रक्रिया पूरा गरी वैदेशिक रोजगारमा जान खोज्दा पनि अध्यागमनले रोक्ने गरेको म्यानपावर व्यवसायीहरू बताउँछन् । अध्यागमनले अनावश्यक रूपमा दुःख दिने नियतले रोक्ने गरेको एक म्यानपावर व्यवसायीले बताए । नेपाली कामदारलाई विमानस्थलबाट गन्तव्य देश जान नदिई फिर्ता गर्नुको मुख्य कारण पैसा भएको उहाँको आरोप छ ।
सबै प्रक्रिया पूरा गरेरै पठाएका कामदारलाई विमानस्थलले रोक्नुपर्ने कुनै कारण नभएको ती व्यवसायीको भनाइ छ । ‘विमानस्थलमा पैसाको सेटिङ चल्ने विषय पहिलेदेखि नै सुनिएको विषय हो । यसका केही प्रमाणहरूसमेत छन्,’ ती व्यवसायीले भने, ‘अध्यामागमन कार्यालयमा सेटिङ गरेर पठाउँदा सबै पास हुने तर प्रमाणित हुने कागजात बोकेर जाँदा पास नहुने रहेछ ।’
संस्थागत रूपमा रोजगारमा गएका नागरिकलाई विदेश पुगेपछि आउने समस्याको समाधानको जिम्मेवारी वैदेशिक रोजगार विभागले गर्दै आएको छ । संस्थागत रूपमा हुने श्रम स्वीकृति सम्बन्धित देशमा रहेको दूतावासबाट प्रमाणीकरण भई विभागबाट श्रम स्वीकृति लिएर मात्र नेपाली श्रमिक विदेशिन पाउँछन् । यसरी गएका कामदार रोजगारदाता देशमा अलपत्र परेको खण्डमा कारबाहीको लागि म्यानपावर आफैँमा भागिदार हुने अवस्था छ ।
तर, पछिल्लो समय अध्यागमन कार्यालय र प्रहरीले समेत विदेशिने कामदारलाई दुःख दिने गरेको स्वयं श्रमिकहरू बताउँछन् । वैदेशिक रोजगार ऐनमा कामदारलाई आइपर्ने समस्याको स्पष्ट कानुनी उपचार पाउने आधारसहितको व्यवस्था छ । विमानस्थलले सबै प्रमाणित कागजात हुँदाहुँदै पनि विमानस्थलबाट अनुमानकै भरमा रोक्नु ऐनविपरीत भएको व्यवसायी संघका अध्यक्ष भण्डारी बताउनुहुन्छ ।
नागरिक वैदेशिक रोजगारमा जाँदा बिनाकारण विमानस्थलको शंकास्पद पत्रको आधारमा जान नपाउने अवस्था छ । विमानस्थलका कर्मचारी र म्यानपावरबीच पैसाको सेटिङ नमिलेपछि वैदेशिक रोजगारीमा हिँडेका कामदारहरू रोकिने गरेका छन् । यसरी रोकिएका कामदारहरूले फेरि वैदेशिक रोजगारीमा जाँदा हवाई खर्च आफैँ व्यहोर्ने गरेका छन् ।



















