दासढुङ्गा नजिकै सडकबाट बस खस्दा बसमा सवार १९ जना यात्रुहरु घाइते।

चितवन := चितवनमा सडकबाट बस खस्दा बसमा सवार १९ जना यात्रुहरु घाइते भएका छन्। बिहान सवा ५ बजेतिर नारायणगढ-मुग्लिन सडक खण्डको दासढुङ्गा नजिकै काकडभिट्टाबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट खसेको हो।

करिब १० मिटर तल खसेपछि बस रुखमा अड्किएको थियो।बसमा सवार चालक सहित ४० जनामध्ये १९ जना घाइते भएको र बसलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

घाइतेमध्ये २ जना भारतको सिलगुडीका छन्। उनीहरुको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ।डिएसपी पण्डितले सबै घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए।