प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन।

काठमाडौं := प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएको छ। आज विहान ८ बजेर ३३ मिनेटमा सीताको निधन भएको नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य अवस्था गम्भीर बने पछि सीता दाहाललाई विहान अस्पताल ल्याइएको र उपचारको क्रममा उहाँको ८ बजेर ३३ मिनेटमा निधन हुन पुगेको हो। अस्पतालमा अहिले प्रधानमन्त्री दाहाललगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन्।

उहाँ लामो समयदेखि पार्किन्सनजस्तो देखिने एक प्रकारको जटिल रोगबाट पीडित हुनुहुन्थ्यो । दाहाललाई देखिएको जटिल रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ ।यो रोग लागेका व्यक्तिलाई हिँडडुलमा समस्या पर्ने, बोल्न र निल्नसमेत कठिन हुने चिकित्सहरू बताउँछन् ।

यो रोगको संकेत पहिलेदेखि देखिएको भए पनि छोरा प्रकाश दाहालको निधनपछि झनै च्यापेको थियो । यसअघि सीताको उपचार भारत, सिंगापुरलगायतका देशमा पनि गरिएको थियो ।उहाँको स्वास्थ्य झन गम्भीर बनेपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लका अनुसार पत्नी दाहालको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको छ । बिहान ११ बजे देखि १ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेर २ बजे अन्तिम दाह संस्कारका पशुपतिनाथ लगिनेछ ।

उहाँ नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत हुनुहुनछ । सीताको निधनसँग प्रचण्डले परिवारका तीन सदस्य गुमाउनुभएको छ । उहाँले यसअघि क्यान्सरका कारण जेठी छोरी ज्ञानु र एक मात्र छोरा प्रकाशलाइ गुमाइसक्नुभएको छ।