मलेसियालाई २२१ रनले हराउँदै एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जित्यो।

क्वालालम्पुर (मलेसिया):= ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । आज मंगलबार भएको फाइनल खेलमा घरेलु टोली मलेसियालाई २२१ रनको फराकिलो अन्तरले हराएको हो।

मलेसियाको बायुमास ओभलमा भएको फाइनलमा जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो। मलेसियाका मोहम्मद अक्रमले १० रन बनाए । अन्य कुनैपनि ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गरलेले १/१ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोडेकाे थियाे।

नेपालका लागि शीर्षक्रमका ब्याटर नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए । ओपनर सूर्यान्सु कोइराला १८ रन, सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए।

मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजजा गरेको थियो र नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो।