भारत := भारतको बैंग्लोरमा जारी साफ च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । कान्तिरभा फुटबल मैदानमा भएको खेलमा भुटानलाई तीन-एकले हराउँदै बंगलादेश समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल पुगेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
सन् २००९ पछि बंगलादेशले पहिलोपटक साफ च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाएको हो । त्यसअघि भएको खेलमा लेवनानले माल्दिभ्सलाई एक–शून्यले हराउँदै समूह ‘बी’को विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाइसकेको छ । अब सेमिफाइनलमा लेवनानले भारतको र बंगलादेशले कुवेतको सामना गर्नेछ ।
समूह चरणमा लेवनानको नौ अंक, बंगलादेशको छ अंक रहृयो। बाहिरिएको माल्दिभ्सको तीन अंक र भुटान अंकविहीन रहृयो। अब शनिबार हुने पहिलो सेमिफाइनल कुवेत र बंगलादेश तथा दोस्रो सेमिफाइनल भारत र लेवनानबीच हुनेछ । समूह ‘ए’बाट नेपाल र पाकिस्तान समूह चरणबाटै बाहिरिएका थिए ।
अघिल्लो संस्करणको उपविजेता नेपाल भने यसपटक समूह चरणबाटै बाहिरिएको थियो । नेपालले पहिलो खेलमा कुवेत र दोस्रो खेलमा भारतसँग हार बेहोरेको थियो । तेस्रो खेलमा भने पाकिस्तानलाई पराजित गर्दै नेपालले सान्त्वना जित हात पारेको थियो ।




















