काठमाडौं:= साफ च्याम्पियनसिपको उद्घाटन खेलमै नेपाल पराजित भएको छ। बुधबारदेखी भारतको श्री कान्तिरभा स्टेडियममा जारी खेलमा नेपाल कुवेतसँग ३-१ गोलअन्तरले पराजित भएको हो।
भारतको बेंगलोरस्थित कन्तिरभा रंगशालामा नेपाल कुवेतसँग ३-१ ले पराजित भएको हो । कुवेतकाे जितमा खलिद हाजिया, सबाइब अलखाल्दी र मोहम्मद अब्दुल्लाहले एक–एक गोल गरे। नेपालका लागि अञ्जन विष्टले एक गोल फर्काएका थिए।
नेपालले अब दोस्रो खेलमा असार ९ गते घरेलु टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल, भारत, कुवेत र पाकिस्तान समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा लेवनान, भुटान, बंगलादेश र माल्दिभ्स छन्। दुवै समूहका शीर्ष दुई दुई टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल आगामी असार १९ मा हुनेछ।
च्याम्पियनसिपको यो संस्करणमा साफ बाहिरका टिमलाई आमन्त्रित टिमको रुपमा सहभागी गराउने निर्णयअनुसार लेवनान र कुवेतले पनि साफ खेल्न लागेका हुन्।श्रीलंकालाई फिफाले प्रतिबन्ध भएकाले उसले प्रतियोगितामा भाग लिन पाउनेछैन।
सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपको सन् २०२३ को संस्करण १४औं संस्करण हो।सन् २०२१ मा माल्दिभ्समा भएको पछिल्लो साफमा भारतले उपाधि जितेको थियो। त्यतिबेला नेपाल फाइनलमा पराजित हुँदा पहिलो उपाधि जित्नबाट बन्चित भएको थियो।
१३ संस्करण मध्ये भारतले आठ पटक उपाधि जितेको छ। नेपालले भने अहिलेसम्म उपाधि जित्न सफल भएको छैन। गत संस्करणको फाइनलमा पुग्नु नेपालको उच्च प्रदर्शन हो।




















