साउदी अरेबिया := नेपाली राजदूतावास साउदी अरेबियाको आयोजनामा साउदी अरेबियाको पूर्वी क्षेत्रको दमाममा सञ्चालन भएको राहदानी सम्बन्धि कन्सुलर सेवा शिविरबाट ८ सय जना नेपाली श्रमिकले राहदानी नवीकरणका लागि आवेदन दिएका छन् ।
साउदीमा रहेको नेपाली दूतावासका अनुसार गएको शुक्रवार र शनिवार ( सन् २०२३ जुन ९ तारिख र १० तारिख) को दिन सञ्चालन भएको उक्त शिविरमा सात सय ९६ जनाले राहदानी नवीकरणको आवेदन दिएका छन् भने १२ सय जनाभन्दा बढीको नवीकरण गरिएको राहदानी वितरण गरिएको छ । शिविरमा २५ सयभन्दा धेरै श्रमिक उपस्थित थिए।

दूतावासले शिविरका दौरान- साउदी अरबमा रहँदा आइपर्नसक्ने साझा समस्या, तिनको समाधानको उपाय तथा नेपाली कामदारले साउदी अरबमा रहनुञ्जेल गर्न हुने र गर्न नहुने काम (Dos and Don’ts) का बारेमा उपस्थित व्यक्तिहरूलाई आवश्यक जानकारी समेत दिइएका थिए।
साथै दूतावासले उक्त शिविर सञ्चालन तथा व्यवस्थापन कार्यमा गैरआवासीय नेपाली संघले लिएको नेतृत्वदायी भूमिकाको उच्च प्रशंसा सहित हार्दिक धन्यवाद ज्ञापन गरेका छ्न। त्यसैगरी, उक्त शिविर सफल पार्न ओहोरात्र खटिनुभएका विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिज्यूहरू प्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो।

यस्ता शिविर सञ्चालन नभएको बेलामा भने यस क्षेत्रबाट राहदानी नवीकरणका लागि श्रमिकहरू रियादमा रहेको नेपाली दूतावाससम्म आउनु पर्ने बाध्यता छ । दूतावासले बेलाबेलामा साउदीको विभिन्न क्षेत्रहरुमा यस्ताे शिविर सञ्चालन गर्ने गर्दछन्।




















