एजेन्सी := युरोपियन ब्यवसायीक लिग फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । म्यानचेस्टर सिटीले शनिबार राति खेलिएको फाइनलमा इटालियन सिरिए क्लब इन्टर मिलानलाई १-० गोलले हराउँदै च्याम्पियन्स लिगको उपाधि चुमेको हो ।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो । म्यानचेस्टर सिटीको जितमा रोड्री नायक बने । उनले निर्धारित समयको ६८औं मिनेटमा म्यानचेस्टर सिटीका लागि निर्णायक गोल गरेका थिए । म्यानचेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।
यो सिजन म्यानचेस्टर सिटीले तीनवटा महत्वपूर्ण प्रतियोगिताको उपाधि चुमेको हो । पेप ग्वार्डिओलाको प्रशिक्षकत्वमा यो सिजन म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगका रुपमा पहिलो उपाधि जित्यो । त्यसपछि एफए कपको उपाधिमाथि म्यानचेस्टर सिटीले कब्जा जमायो ।
तेस्रो उपाधिका रुपमा म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग जितेको हो । म्यानचेस्ट सिटी एकै सिजन तीनवटा ठूला प्रतियोगिताको उपाधि जित्ने दोस्रो इङ्लिस क्लब पनि बनेको छ । यसअघि म्यानचेस्टर युनाइटेडले यस्तो उपलब्धि हासिल गरिसकेको थियो ।
पेप ग्वार्डिओला तीनवटा च्याम्पियन्स लिग उपाधि जित्ने तेस्रो प्रशिक्षक पनि बनेका छन् । यसअघि कार्लो एन्सोलोटी र जिनेदिन जिदानले तीनपटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । यसअघि म्यानचेस्टर सिटी सन् २०२१ मा च्याम्पियन्स लिगको फाइनलमा चेल्सीसँग पराजित भएको थियो ।
च्याम्पियन्स लिगको उपाधि सबैभन्दा बढी पटक जित्ने क्लब भने रियल म्याड्रिड हो । रियल म्याड्रिडले हालसम्म १४ पटक च्याम्पियन्स लिगको उपाधि चुमेको छ । दोस्रो स्थानमा रहेको इटालियन क्लब मिलानले सात पटक उपाधि जितेको छ ।
यससँगै सिटीले ट्रबेल जितेको छ। यसअघि प्रिमियर लिग र एफए कपको उपाधि जितेको सिटी सन् १९९९ पछि ट्रेबल जित्ने पहिलो इंग्लिस क्लब बन्यो। पछिल्लो पटक इंग्लिस क्लबमा म्यानचेस्टर युनाइटेडले सन् १९९९ मा ट्रेबल जितेको थियो।
प्रशिक्षक पेप ग्वार्डिओलाले प्रशिक्षकको रुपमा दोस्रो क्लबबाट च्याम्पियन्स लिग जिते। उनले बार्सिलोनामा दुई च्याम्पियन्स लिग जितेका थिए। सिटी दुई वर्षअघि पनि फाइनलमा पुगेको थियो। त्यतिबेला सिटी चेल्सीसँग पराजित भएको थियो।




















