काठमाडौं := टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहनुभएका रेशमलाल चौधरी आज जेलमुक्त हुनुभएको छ। गणतन्त्र दिवसको अवसरमा चौधरी आज कारागारबाट रिहा हुनुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले आम माफी दिएसँगै उहाँ ६ वर्षपछि रिहा हुनुभएको हो ।

उहाँको स्वागतका लागि श्रीमती एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता चौधरी, नेतृ एलिजा गौतमलगायत नेता कार्यकर्ता, शुभेच्छुक बाजागाजा र फुलमालासहित कारागार पुगेका थिए । टीकापुर घटनामा दोषी ठहर भई कैद सजाय भोगिरहेका चौधरीसहित विभिन्न मुद्दाका १९ जना बन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार आम माफी दिनुभएको थियो ।

राष्ट्रपतिले थप ४८२ जना कैदी बन्दीको सजाय पनि मिनाहा गर्नुभएको छ । टीकापुर घटनामा भने रेशमलाई मात्रै माफी दिइएको छ। थरुहट आन्दोलन चर्किंदा कैलालीमा भएको विरोध प्रदर्शन हिंसात्मक बनेपछि भिडले आक्रमण गरेर नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीलाई मारिदिएको थियो ।
सो घटनामा एक बालकको पनि ज्यान गएको थियो । उच्च अदालतले यसअघि फैसला सुनाउने क्रममा ‘टीकापुर घटना क्रूर, निर्मम र मानवताविरोधी’ भएको ठहर गरेको थियो । घटनामा संलग्न भएको अभियोगमा दुई दर्जनभन्दा बढी व्यक्तिविरुद्ध कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग लगायतका मुद्दा चलाइएको थियो ।
थरुहट आन्दोलन चर्किंदा रेशम चौधरी कैलालीमा एउटा एफएम स्टेसन र रिसोर्ट चलाउनुहुन्थ्यो। टीकापुर काण्डमा नाम मुछिएपछि उहाँ केही समय भूमिगत हुनुभयो । सो घटनामा मुख्य योजनाकार भएको अभियोग खेप्नुभएका चौधरीलाई पछि पक्राउ गरेर पुर्पक्षका लागि कारागारमा राखियो । अघिल्लो संसदीय निर्वाचनमा उहाँ राष्ट्रिय जनता पार्टीबाट उम्मेदवार बन्न्। सांसद निर्वाचित भएपछि उहाँले कारागारबाटै गएर शपथग्रहण गर्नुभएको थियो ।
गत मंसिरमा भएको निर्वाचनमा उहाँ नवगठित नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया-२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएको थियो । फौजदारी कसुरमा जेल परेको हुनाले चौधरीको उम्मेदवारी बदर भयो । तर, सोही निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिनुभएका उहाँका बुवालाई पार्टीले आफ्नो उम्मेदवारका रूपमा प्रस्तुत गर्यो र उहाँविजयी हुनुभयो । जेलमा हुँदा नै चौधरीले नागरिक उन्मुक्ति पार्टी स्थापना गर्नुभएको थियो ।




















