रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश।

एजेन्सी := साविक विजेता रियल मड्रिडलाई हराउँदै म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । इत्तिहाद स्टेडियम म्यानचेस्टरमा गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा ४–० को तथा समग्रमा ५–१ को जितसहित सिटी फाइनलमा पुगेको हो ।

सिटी र रियल मड्रिडले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान एक/एक गोल गरे । सिटी सन् २०२०/२१ को सिजनमा फाइनलमा पुगे पनि चेल्सीसँग पराजित भएको थियो ।

रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ तर सिटीले उपाधि जित्न सकेको छैन ।

च्याम्पियन्स लिगको फाइनलमा सिटीले इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ। इन्टर पहिलो सेमिफाइनलमा एसी मिलानलाई हराउँदै २०१० पछि पहिलो पटक फाइनलमा स्थान बनाएको थियो। फाइनल खेल जुन १० मा टर्कीको इस्तानबुलस्थित एटाटुर्क स्टेडियममा हुनेछ।