एमाले पार्टीका सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी आठ दिनदेखि फरार।

काठमाडौं := नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आठ दिनदेखि फरार हुनुहुन्छ ।नेकपा एमालेले पनि उहाँ पार्टीसँग सम्पर्कमा नरहेको जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारदेखि बसेको केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारमा दोषी ठहर हुने कसैलाई पनि उन्मुक्ति दिन नहुने बताउनु भयो । सो प्रकरणमा मुछिएपछि पार्टीबाट निलम्बनमा पर्नुभएकाे रायमाझी बैठकमा उपस्थित हुनुहुन्न ।

बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले रायमाझी एमालेसँग सम्पर्कमा नभएको बताउनु भएको थियो । गुरुङले भन्नुभयो, ‘उहाँ जुन दिनदेखि सम्पर्कमा रहनुभएन । त्यो दिनदेखि हामीलाई थाहा छैन । अस्ति सचिवालयको बैठकले नै विधि र कानूनको शासन मान्ने पार्टी भएकाले राज्यले गर्ने छानविन र अनुसन्धानमा सहयोग गर्नुपर्छ भनेको थियो । अपराधी नै भएको होइन नि अहिले त अभियोगमात्रै लागेको हो।’ सोही प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण भने बुधबार नै पक्राउ परिसक्नुभएकाे छ ।