काठमाडौं:= नेपालसँग आगामी महिना जिम्बाबेमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेट खेल्ने १० वटै टोलीको टुंगो लागेको छ । आयरल्याण्डले विश्वकप सुपर लिगको शीर्ष आठमा रहेर सिधै विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोटमा सहभागी हुने १० वटै देशको टुंगो लागेको हो।
विश्वकप छनोटमा श्रीलंका, वेस्ट इण्डिज, जिम्बाबे, नेदरल्याण्ड्स, आयरल्याण्डजस्ता ठूला टोलीले खेल्नेछन् । यस्तै, विश्वकप छनोटमा लिग ‘टू’ बाट आएका नेपाल, स्कटल्याण्ड र ओमानले पनि छनोट खेल्नेछन् भने गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट आएका अमेरिका र युएईबीच पनि प्रतिस्पर्धा हुनेछ ।
१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्याण्ड, बंगलादेश, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तानले भने सिधै विश्वकपमा स्थान बनाइसकेका छन् ।
नेपालले गत महिना लिग टूमा तेस्रो स्थान हासिल गर्दै विश्वकप छनोटमा स्थान बनाएको हो । लिग टूमा नेपालले पछिल्ला १२ मध्ये ११ खेल जित्दै सनसनीपूर्ण नतिजा निकालेको थियो । विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाईसम्म आयोजना हुनेछ ।