मलेसियामा बुद्ध जयन्ती कार्यक्रम भब्य सम्पन्न, बुद्धको जन्मस्थल लुम्बिनी घुम्न निमन्त्रणा।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर (मलेसिया):= मलेसियामा आयोजित २५६७औं बुद्ध जयन्ती-२०२३ वेसेक डे (Vesak Day) कार्यक्रम भब्य र सभ्य सम्पन्न भएको छ।

“भिजिट नेपाल” र “बुद्धको जन्म नेपालमा भएको हो” भन्ने मुल नारासहित मलेसियास्थित नेपाली राजदूतावासको प्रमुख आयोजना तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) , नेपाल आदिवासी जनजाती महासंघ मलेसिया , नेपाली ब्यावसायी समाज लगायत विभिन्न संघसंस्थाको सहकार्यमा बिहिवार राजधानी क्वालालम्पुर आयोजित सो बुद्ध जयन्ती कार्यक्रम भब्यताका साथ सम्पन्न भएको हो।

ब्रिकफिल्डमा अवस्थित कान्डियाह हलमा आयोजित एक समारोहका बीच औपचारिक कार्यक्रमको उद्घाटन लामा गुरुहरुद्वारा परम्परागत पुजा अराधना गर्दै दूतावासका महामहिम राजदूत डिल्लीराज पौडेलले पानसमा बति बालेर गर्नुभएको थियो।

उदघाटनको क्रममा कार्यक्रममा सहभागी मलेसियामा अवस्थित विभिन्न देशका राजदूतहरुले समेत संयुक्त रुपमा बति बालेर पुजाअराधना गरेका थिए। साथै राजदूत पौडेलले बुद्धको बारे प्रकाश पार्दै कार्यक्रममा सहभागी सबै अतिथिहरुलाई स्वागत गर्नुभएको थियो।

हलभित्रको औपचारिक कार्यक्रमको उदघोषण दूतावासकी  प्रथम सचिव यशु बस्न्यातले गरेकी थिइन्। कार्यक्रममा नेपाल देशसंग बुद्धको ऎतिहासिक सम्बन्ध र जन्मभुमि लुम्बिनीको बारे अनि नेपाल देशको बारेमा भिडियो वृत्तचित्र प्रदर्शन गरेर देखाइएको थियो। कार्यक्रममा उपस्थित अतिथिहरुले बुद्ध जयन्तीको शुभकामना सहित मन्तव्य राखेका थिए।

साथै कार्यक्रममा उपस्थित गैर आवासीय नेपाली संघका प्रवक्ता एवम् नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि सोम सापकोटाले बुद्धको बारे जानकारी दिदै नेपाल एउटा् पर्यटकिय देश भएकोले कार्यक्रममा उपस्थित अन्तर्राष्ट्रिय देशका अतिथिहरुलाई नेपाल र बुद्धको जन्म स्थल लुम्बिनी घुम्न गएर बुद्धको बारेमा अझै विस्तृत रुपमा सहि सत्य तथ्यबारे बुझ्न सकिने भन्दै सार्वजनिक निमन्त्रणा गर्नुभएको थियो।

कार्यक्रममा स्थानीय नेपाली कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । हलभित्र आयोजित औपचारिक कार्यक्रम सकिएपछि नेपाली खानाको परिकार समेत पस्केका थिए।
शान्ति पदयात्रा कार्यक्रममा सहभागीहरुले नेपाली झण्डा बोकेर बुद्धको मुर्ति, नेपाली झण्डा र अन्य धार्मिक कलाकृतिहरु सहितको सुन्दर ढंगले सजिएका ट्रक,लोरिहरु लिएर मार्च पास समेत गरेका थिए । १२ भन्दा बढी बौद्ध राष्ट्रका कूटनीतिक नियोगका साथै मलेसियाले बुद्ध पूजा मन्त्र बजाउँदै आ–आफ्ना सजाइएका ट्रक र सङ्गीतसहित मार्चपासमा हजारौंको संख्यामा मानिसहरुले भाग लिएका थिए ।

आयोजक संस्थाहरुको तर्फबाट प्रतिनिधित्व गर्दै एनआरएनए मलेसिया अध्यक्ष बिनोद थापाले बुद्ध जयन्ती कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निभाउने उपस्थित सबैजनामा हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नुभएको थियो।

कार्यक्रममा श्रीलंकाका हाई कमिसनर महामहीम एयर चिफ मार्सल सुमाङ्गला दियास, मोरस्कोका हाई कमिसनर महामहीम जग्दिश्वर गोबर्धन, लाओस दुतावासका उपनियोग प्रमुख फेत्वीलायचाङ्ह सोभान्नाराथ, सिडिए म्यिन्ट ह्तुन, टि(रत्न वलएफेयर सोसाइटीका अध्यक्ष दातुक श्री डाक्टर केके चाई, पेनाङका लागि नेपालका महावाणिज्यदूत दातुक हुएन चेङ गुएन, सेलाङगर, नेगारी सेम्बिलान, मलकाका नेपालका वाणिज्यदूत तेव स्वि लेङ, मलेसियाका पहिलो सगरमाथा आरोहि मगेन्द्रन मुनिसमी र मोहनदास नगाप्पान लगायत अन्तर्राष्ट्रिय अतिथिहरु उपस्थित रहेका थिए ।

[ फोटो स्रोत : कृष्ण गुप्ता / आरएन चौधरी थारु ]