काठमाडौं := नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)को चलचित्र अवार्डको मिति सारिएको छ । अमेरिकामा आउँदो जेठ १३ मा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’को एघारौं संस्करण आगामी साउन ६ गते हुने भएको हो ।
‘हाम्रो तयारीका लागि समय अपर्याप्त भएकाले मिति हेरफेर गरेका हौं, अर्को मितिमा अवार्डलाई थप समावेशी, वृहत र सफल तुल्याउन सजिलो हुनेछ’ नेफ्टा अध्यक्ष पुस्कर लामाले भन्नुभयो, ‘नयाँ तालिकाअनुसार यही वैशाख ३१ मा अवार्डका लागि सर्वश्रेष्ठ पाँचजनालाई मनोनयन गरिएको घोषणा गरिनेछ। उत्कृष्ट पाँचमा रहने चलचित्रकर्मीले अवार्डमा सहभागिता जनाउनेछन् ।’
‘हामी अवार्डलाई भव्यरूपमा सम्पन्न गर्दै नेपाली कला, संस्कृतिमार्फत चलचित्रको बजार विस्तारसमेत गर्न चाहन्छौं’, उहाँले भन्नुभयो । अध्यक्ष लामाका अनुसार २०७९ सालभित्र प्रदर्शन भएका चलचित्रले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् । नेफ्टाका विदेशी संस्करण युएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेको छ । अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र आर्यन फिल्मस्ले पनि सहकार्य गर्दैछन् ।




















