काठमाडौं := महोत्तरी १ बाट निर्वाचित प्रहरीको फरार सुचीमा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदाबारे प्रतिनिधि सभाले कुनै निर्णय गर्न सकेनन्। अधिवेशन अन्त्यका क्रममा दश वा सोभन्दा बढी बैठकमा लगातार अनुपस्थित सांसदको बिदाबारे निर्णय गर्ने अभ्यास भए पनि कोइरीको हकमा संसद भवनभित्रै विवाद भएपछि निर्णय नभएको हो।
सत्तापक्षका सांसदहरुले फरार अभियुक्तलाई बिरामी भनेर प्रस्ताव स्वीकृत गर्न नसकिने अडान राखेपछि अर्को अधिवेशनमा निर्णय गर्ने भन्दै विवाद पन्छाइएको छ। शुक्रबारको बैठकको अन्त्यमा विवाद भएपछि साँझ ५ः१० बजे बैठक स्थगित भएको थियो। राति ८ बजे दोस्रो बैठक बोलाइए पनि विवादका कारण राति १० बजेमात्र बैठक बसेको थियो।
कोइरीको विषयलाई लिएर सभामुखले बोलेपछि चर्काचर्की हुनुको साथै संसद अवरोध समेत गरेका थिए । भने बैठक ३० मिनेटको लागि स्थगन समेत भएको थियो । बिरोध जनाउँदै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हसाइको विषय भएको बताउनु भयो । उहाँले कोइरी बिरामी भएर अनुपस्थित भएको भन्ने शब्द नै संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो । संसदले झुटो कुरा गर्नु नहुने उहाँको भनाई छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले कोइरी बिरामी नभइ फरार अभियुक्त भएको बताउनु भयो । भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उहाँले बिरामी भन्न नहुने बताउनु भयो । त्यस्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरार अभियुक्तलाई अभियुक्त भनेर सभामुखलाई जानकारी गराउन नसक्नु प्रधानमन्त्री, गृहमन्त्री र कार्यव्यवस्था परामर्श समितिको दोष भएको बताउनु भयो ।
त्यस्तै एमाले सांसद रघुजी पन्तले एमाले सांसद कोइरीलाई लुकाउने पक्षमा नरहेको बताउनु भयो । उहाँले सरकारले पक्राउ गर्न नसकेको तर संसदमा तमासा देखाइएको बताउनु भयो ।त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले कोइरीलाई बिरामी भन्नु लज्जास्पद कुरा भएको बताउनु भयो । उहाँले ज्यानमारालाई चोख्याउन नमिल्ने भन्दै उनीमाथि कारबाही हुनुपर्ने बताउनु भयो ।
त्यस्तै नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हीतराज पाण्डेले सांसद कोइरीलाई बिरामी भन्नु नहुने र फरार अभियुक्तकै रुपमा लिनुपर्ने बताउनु भयो । सभामुख देवराज घिमिरेले सांसद कोइरी फरार भएको कुनै आधार आफुकहाँ नआएको बताउनु भयो । आफूले प्राप्त गरेको पत्र अनुसार बिरामी भएको सूचना सुनाइएको उहाँको भनाई छ ।
सभामुखले आगामी दिनमा सांसद कोइरीको विषयमा नेपालको संविधान र कानून बमोजिम कारबाही भएर जाने भएकाले सांसदहरुलाई पटक–पटक संसदको अवरोध खोल्न आग्रह गर्नुभएको थियो । सांसदहरु सभामुखको कुरा मान्न तयार नभएपछि संसद बैठक ३० मिनेटको लागि स्थगन भएको छ
दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले कोइरीबारे अर्को अधिवेशनमा कानुन अनुसार निर्णय गर्ने जानकारी बैठकमा दिनुभएको थियो। प्रतिनिधि सभा निमायवली अनुसार अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेका सांसद निलम्बन हुने व्यवस्था छ। सभामुख घिमिरेले नियमावलीको सो व्यवस्था कार्यान्वयनमा आएपछि अधिकारप्राप्त निकायबाट पत्राचार नभएको भन्दै निलम्बनको प्रक्रिया अघि बढाउन अस्वीकार गरेका थिए।
पुनः पत्राचार गर्दै प्रहरी
विवादपछि प्रमुख दलका नेताहरुकै बैठकबाट घटनाबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जानकारी गराइएको थियो। मन्त्री श्रेष्ठले कोइरीबारे प्रहरीले आइतबार तत्काल नै संसदलाई जानकारी गराउने प्रतिवद्धता जनाएका थिए।
प्रहरीले तत्काल नै कोइरी फरार रहेको जानकारी गराए निलम्बनको प्रक्रिया प्रारम्भ हुनेछ।
२०७२ भदौमा सशस्त्र प्रहरीका असइ थमन विकको हत्या अभियोग लागेका कोइरीले फरार रहेकै अवस्थामा निर्वाचनमा सहभागी भएर विजयी भएका थिए।
विकको हत्या अभियोगमा सुरुमा जिल्ला अदालतले कोइरीलाई एक लाख रुपैयाँ धरौटीमा रिहाको आदेश गरेको थियो। उच्च अदालत जनकपुरले भने २०७७ मा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो। अदालतको आदेश कार्यान्वयन नभइ कोइरी अहिले फरार छन्।
फरार अवस्थामा रहेका उनले संसदलाई २०७९ माघ २५ गतेदेखि बिरामी परेकाले बिदा स्वीकृतका लागि निवेदन पठाएका थिए। कोइरीले अधिवेशनमै दुईवटा निवेदन पठाएका थिए।
शुक्रबार अधिवेशन अन्त्यका क्रममा उक्त बिदाको जानकारी स्वीकृतका लागि पेस भएसँगै विवाद भएको थियो। नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तावको विरोध गरेका थिए।




















