एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियाको पहिलो जीत।

Vijay Unni of Malaysia bowling during the ACC Men’s Premier Cup 2023 Group A match between Malaysia and Saudi Arabia held at the Mulpani Cricket Stadium in Kathmandu on the 20th April 2023 Photo by: Siddharth Dwivedi / Creimas / Asian Cricket Council

काठमाडौं := एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको हो ।

यसअघि भएको पहिलो खेलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो । यस जितसँगै दुई खेल खेलेको मलेसियालले दुई अंक जोडेको छ । साउदी अरेबियाले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । आजको खेलमा साउदी अरेबियाले प्रस्तुत गरेको १५४ रनको लक्ष्य मलेसियाले २१ दशमलब २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । मलेसियाका मोहम्मद अमिर र वीरनदीप सिंहले अर्धशतकीय पारी खेले ।

अमिरले ४४ बलमा १२ चौकाको मद्दतमा सर्वाधिक ५६ रनको योगदान दिनुभयो । त्यस्तै, वीरनदीप सिंहले ५३ बलमा आठ चौकाको मद्दतमा ५१ बनाउनुभयो । मलेसियाका अर्का खेलाडी सैयद अजिजले अविजित ३४ रन जोड्नुभयो । साउदी अरेबियाका लागि जइन उल अबिदीनले दुई विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले ४६ दशमलब दुई ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनाएको थियो । साउदीका लागि हसिब घफोरले सर्वाधिक ४० रनको योगदान दिनुभयो भने अब्दुल वाहिदले ३६ रन बनाउनुभयो । त्यसैगरी कप्तान हिसम शेखले २७ तथा अतिफ उर रहमानले अविजित १८ रन बनाउनुभयो ।

बलिङतर्फ मलेसियाका खिजर हायातले तीन विकेट लिनुभयो भने मोहम्मद वाफिक, रिजवान हैदर र अनवर रहमानले समान दुई/दुई विकेट लिनुभयो । त्यस्तै, वीरनदीप सिंहले एक विकेट झार्नुभयो ।

एसिसी प्रिमियर कपको समूह ‘ए’ मा घरेलु टोली नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिता वैशाख ५ देखि १८ गतेसम्म टियु र मूलपानीमा हुनेछ । प्रतियोगिताको उपाधि जित्ने टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछन् ।

नेपालले दोस्रो खेल शुक्रबार ओमानसँग, तेस्रो खेल साउदी अरेवियासँग वैशाख ११ गते खेल्नेछ । नेपालले वैशाख १४ मा कतारसँग टियुमा खेल्नेछ ।