[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेकै बेला सुत्यासुत्यै अवस्थामा हृदयघात भएर मृत्यु भएका एकजना नेपाली श्रमिकको परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ।
नेपाल ठेगाना सुनकोसी गाउँपालिका ५ साविक फुलखर्क गाबिस वडा नम्बर ३ बस्ने गोपाल तामाङ मिति सन् २०२३ को गत महिना मार्च ६ तारिख सोमबारदिन बिहानको समयमा कोठाको खाटमा सुतेकै अवस्थामा मृत फेला परेका थिए।
मृतक तामाङ मलेसियाको पेराइ पेनाङमा अवस्थित चि खेङ्ग क्यान ( Chee Kheng Can Factory Sdn Bhd) कम्पनीमा काम गर्ने गर्दथे। मृतक तामाङको शव नेपाल फर्काएर अन्तिम दाहसंस्कार सम्पन्न भैइसकेको भए ता पनि मृत्यु पश्चात् उसको घरपरिवारलाई थोरै भएनी आर्थिक सहायता होस् भन्ने भावना र सामाजिक सोचको साथ यहाँ विभिन्न कम्पनीमा काम गर्ने नेपाली श्रमिकहरुबाट रकम संकलन गरि सहयोग हस्तान्तरण गरिएको आर्थिक सहयोग रकम संकलन संयोजक पेशल तामाङले जानकारी दिनुभयो।

मृतक तामाङ कार्यरत कम्पनीमा काम गर्ने नेपाली श्रमिक गंगा तामाङ र नवीन तामाङको सकृयतामा अन्य नेपालीहरुबाट संकलन गरिएको मलेसियन रिंगेट आरएम ६ हजार २०० नेपाली रुपैयाँ रु. १ लाख ८१ हजार र जोहोरबारु राज्यमा रहेको फ्लेक्स कम्पनी लगायत अन्य विभिन्न कम्पनीमा कार्यरत श्रमिकहरुबाट संकलित जम्मा नेपाली रकम रु. ७२ हजार गरि जम्मा नेपाली रुपैयाँ २ लाख ५३ हजार आर्थिक सहयोग रकम मृतक तामाङको श्रिमति सरिता तामाङको नाममा पठाईसकिएको पेशल तामाङले मलाया खबरलाई बताउनुभयो।



















