अब अप्रिल २८ तारिखदेखि मलेसियास्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति दिइने।

क्वालालम्पुर (मलेसिया):= नेपाली नयाँ बर्ष २०८० वैशाख १५ गतेदेखि, अर्थात सन् २०२३ अप्रिल २८ तारिखदेखि मलेसियास्थित नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृतिको काम सुरु हुने भएको छ ।

विदेशमा कार्यरत नेपाली श्रमिकलाई सहज र सरल होस् भनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनमा सम्बन्धित देशको नेपाली नियोग, दूतावासबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो । सोही आधारमा मलेसिया स्थित नेपाली दूतावासले उक्त सेवा कार्य सुचारु गर्न लागेको दूतावासले जनाएको छ। यो सेवा यहाँ सुरु भएपछि मलेसिया र ब्रुनाईमा रहेका नेपालीहरु लाभान्वित हुनेछन् ।

साथै दुतावासले मलेसियामा र ब्रुनाईमा कार्यरत नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्य पनि अगाडि बढाउने भएको छ।

दूतावासले एक सूचना सार्वजनिक गर्दै भनेको छ ,  यस राजदुतावासबाट पुन: श्रम स्वीकृतिको कार्य यही मिति २०८० साल बैशाख १५ गतेबाट शुरु गरिने भएकोले मलेसिया र ब्रुनाईका विभिन्न स्थानमा रहि विभिन्न कम्पनीहरुमा कार्यरत पुन: श्रम स्वीकृति लिन बाँकी रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले देहायको प्रक्रिया अवलम्वन गरी पुन: श्रम स्वीकृतिका लागि निवेदन दिन सकिने एवं विदेशमा रहि स्वरोजगारमा रहेका नेपाली नागरिकहरु स्वेच्छाले सामाजिक सुरक्षा कोषमा आबद्ध हुन सकिने भएकोले सरोकारवाला सबैमा यो सूचना प्रकाशन गरिएको छ ।

१. यस राजदूतावासबाट पुन: श्रम स्वीकृति प्रदान गर्ने कार्य यही मिति २०८० साल बैशाख १५ गतेदेखि शुरु गरिनेछ ।

२. पुन: श्रम स्वीकृति लिनको लागि वैदेशिक रोजगार विभागको वेभसाईट (www.dofe.gov.np) मा गएर द्रुत लिङ्कहरु मध्येको अनलाईन श्रम स्वीकृति (FEIMS) मा क्लिक गरी सो मा तोकिए अनुसारको कार्य गरी अनलाईनबाट मात्र निवेदन पेश गर्न सकिनेछ ।

३. FEIMS लग ईनको लागि USER ID मा आफ्नो राहदानी नम्बर हुनेछ। राहदानी नम्बर उल्लेख गर्दा आफुले यसभन्दा अघी श्रम स्वीकृति लिँदा प्रयोग गरेको राहदानी नम्बर उल्लेख गर्नुहोला। पासवर्ड Re-Set गर्न सकिनेछ। Re-Set गर्न दूतावासको सहयोग आवश्यक परेमा आफ्नो राहदानी नम्बर, ईमेल र सम्पर्क नम्बर उल्लेख गरी eonkualalumpur@mofa.gov.np अथवा labor.eonkl@mofa.gov.np मा ईमेल गर्नुहोला। राजदूतावासले नयाँ पासवर्ड उपलब्ध गराईदिनेछ।

४. पुन: श्रम स्वीकृतिका लागि अनलाईन निवेदन पेश गर्नु अघि सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा आबद्ध भएको हुनुपर्नेछ। नेपालको सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागि https://sosys.ssf.gov.np/ वेभपेजमा गई वैदेशिक रोजगारी सूचीकरणमा क्लिक गरी अनलाईन आवेदन फाराम भर्नुहोला।

५. बैदेशिक रोजगार कल्याणकारी कोष, सामाजिक सुरक्षा कोष र नियमानुसारको बीमा वापतको रकम KHALTI वा CONNECT IPS वा E-SEWA आदि जस्ता Digital Payment System बाट भुक्तानी गरी सो को निस्सा अनलाईन प्रणालीमा Upload गर्नुपर्दछ ।

६. पुन: श्रम स्वीकृति लिने प्रक्रिया सम्बन्धि विस्तृत जानकारी वैदेशिक रोजगार विभागको वेभसाईड (www.dofe.gov.np) मा गएर “अनलाईन बाट पुन: श्रम स्विकृती लिने तरिका” शीर्षकको भिडीयो बाट समेत प्राप्त गर्न सकिनेछ ।

७. सामाजिक सुरक्षा कोषमा आबद्ध हुने सम्बन्धि विस्तृत जानकारी सामाजिक सुरक्षा कोषको वेभसाईट (www.ssf.gov.np वा www.sosys.ssf.gov.np) बाट प्राप्त गर्न सकिनेछ ।

८. पुनः श्रम स्वीकृति लिने वा सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सम्बन्धी थप जिज्ञासा भए नेपाली राजदूतावासका श्रम काउन्सेलर वा श्रम सहचारीलाई सम्पर्क गर्नुहोला।
सम्पर्कको लागिः

ईमेलः labor.eonkl@mofa.gov.np फोनः ०३ – २०२०१८९८ / ०३ – २०२०१८९९

नेपाली राजदूतावास, क्वालालम्पूर
२०७९ साल चैत्र २९ गते बुधवार

पुनः श्रम स्वीकृति लिने र सामाजिक सुरक्षा कोषमा आवद्ध हुने