पार्टी हितविपरीत काम गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले गर्यो सुरेन्द्र चौधरीलाई कारवाही।

कैलाली := नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी हितविपरीत काम गरेको भन्दै आफ्ना पार्टीका नेता सुरेन्द्र चौधरीलाई कारबाही गरेको जनाएको छ ।

सो पार्टीका प्रमुख सचेतक गङ्गाराम चौधरीले पार्टी हितविपरीत काम,कुरो गरेकाले नेता सुरेन्द्र चौधरीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको बताए ।

नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी भरखरै सम्पन्न सङ्घीय चुनावमा दाङ–१ बाट उम्मेदवार बनेका थिए । तर चुनावमा नराम्ररी हार ब्यवहोरेका थिए ।

सुरेन्द्र चौधरी नागरिक उन्मुक्ति पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आएका थिए । सुरेन्द्र चौधरीले केहि दिन पहिलेमात्रै सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको जानकारी समेत दिएका थिए ।

आफूले अन्य जिल्लाबाट विभिन्न दलका वरिष्ठ नेताहरूलाई नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गराएकोमा कुनै जिम्मेवारी नदिएको गुनासो थियो सुरेन्द्रको । यसका साथै राजनीतिक समितिको संयोजक भएको नाताले अन्य दलसँग सहकार्य, समन्वयको जिम्मेवारी आफ्नो भएको उनको भनाई थियो । तर आफूलाई भूमिकाविहीन बनाएको प्रसंग उनले बेला बेलामा सामाजिक सञ्जाल फेसबुकमा उठाउँदै आएका थिए ।