काठमाडौं:= नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेलाई महाभियोग लगाउनसक्ने आशंका व्यक्त गर्नुभएको छ। बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सत्ता गठबन्धनमा बहुमतको दम्भ रहेको भन्दै सभामुख घिमिरेलाई महाभियोग लगाउन सक्ने आशंका व्यक्त गर्नुभएको हो ।
प्रतिनिधिसभामा २५ प्रतिशत सांसदले सभामुखले पद अनुसार आचरण नगरेको भनी प्रस्ताव पेश गर्न सकिने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा रहेको बताउँदै उहाँले सत्ता गठबन्धनले सभामुखविरुद्ध यही प्रस्ताव ल्याउन सक्ने आशंका व्यक्त गर्नुभयो ।
त्यो बेला पनि पूर्व ‘राष्ट्रपतिलाई महाअभियोग लगाउन खोजेको बताउँदै उहाँले पार नलाग्ने भएपछि पछि हटेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिलेको सभामुखलाई कुन दिन ल्याउन बेर लगाउँदैनन् किनकि २५ प्रतिशतले पुगिहाल्छ, यिनीहरुसँग त बहुमत छँदैछ, महाअभियोग ल्याउन पनि बेर लगाउँदैनन्, लाजशरम भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन ।’
सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध पनि महाअभियोग प्रस्ताव ल्याएर सर्वोच्च अदालतलाई ६ महिना नेतृत्वविहीन बनाएको उहाँले आरोप लगाउनु भयो ।ओलीले राज्यसत्ता जनताको पक्षमा नरहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘यसभन्दा अघि पार्लीयामेन्टमा एकजना सभामुख देख्यौं । एउटा पक्षको प्यादाको रुपमा काम गर्नुभयो उहाँले । पार्टी विशेषको प्यादा बन्नुभयो ।’



















