पाँचजना नेपाली युवा श्रमिकहरु पाँच महिनादेखि मलेसियामा अलपत्र, उद्दार गरिदिन हारगुहार।

क्वालालम्पुर (मलेसिया):= खोटाङका दुईसहित पाँच जना नेपाली युवा श्रमिकहरु पाँच महिनादेखि मलेसियामा अलपत्र अवस्थामा रहेका छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया आईपुगेका उनीहरु नेपालस्थित एक म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् ।

मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका-८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका-१ बहेरीका सनम दराई रहेका छन् ।

मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यम मार्फत हारगुहार गरिरहेका छन् । काठमाडौँको गौशलास्थित उत्सव म्यानपावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरूले फ्रि भिसा र फ्रि टिकट भए पनि फरक-फरक एजेन्टलाई फरक-फरक परिमाणको धरौटी रकम बुझाएको पाइएको छ ।

दैनिक आठ घन्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएको खार्मीका सोमले जानकारी दिनुभएको छ । “यहाँ ल्याएर छाडेपछि सुरुमा १८ दिन काम लगायो । अहिले हामी आएको पाँच महिना बितिसक्यो । कम्पनीका मान्छे भेट्नसमेत आएका छैनन्”, उहाँले भन्नुभयो, “नेपालस्थित म्यानपावर कम्पनीका प्रतिनिधिलाई फोन गर्दा विभिन्न बहाना बनाएर धम्की दिन थालेका छन् । हामीलाई बन्दी बनाएर राखिएको छ ।” रासस