म्याग्दीमा भीषण असिना पानी, बाली थन्काउने बेलामा पानीले सबै सखाप।

[ ध्रुवसागर शर्मा ] 

म्याग्दी:= मंगलवार दिउँसो म्याग्दीका लेकाली क्षेत्रहरुमा वर्षासँगै परेको भीषण असिना पानीले थन्काउने बेलाको बाली सखाप पारी दिएपछि किसान चिन्तित बनेका छन्। लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नैलागेको हिउँदेवाली समेत असिनाले नास गरिदिए पछि किसान चिन्तित भएका हुन् ।

मंगलवार दिउँसो एक्कासी वर्षासँगै असिना परेपछि म्याग्दीको बेनी नगरपालिका २ज्यामरुककोटको गौश्वार, वडा नं ३ भकिम्लीको चिनाखेत, डाँडाखानी लगायत जिल्लाका उच्च लेकाली क्षेत्रमो खेतीबालीमा क्षति पुर्याएको किसानहरुले बताएका छन् ।

हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको ज्यामरुककोटका किसान भीमबहादुर क्षेत्रीले बताउनुभयो । मंगलवार दिउँसो हिउँजस्तै जम्नेगरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उहाँको भनाइ छ । यस अघि गत शनिवार पनि भकिम्ली र चिनाखेतमा असिना परेको थियो ।

खेतबारीमा लगाएको गहुँ,तोरी,केराउ,जौ,उवा लगाएत भित्राउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै,सिमी,आलु,काँक्रो,घिरौला लगाएतका तरकारी र बालीका विरुवामा समेत क्षति पुगेको चिनाखेतका कृषक श्याम पुनले बताउनुभयो । त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पुर्याएको छ । असिनाले गरेको क्षतिको विवरण संकलन भैरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो । अलिअलि भएको बाली समेत असिनाले नष्ट गरिदिँदा किसानहरु मारमा परेको उहाँले बताउनुभयो । जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषकहरु भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ ।

वर्षा भएपछि चैते धान रोप्न र खेतबारीमा मकै बाली लगाउन पाउँदा असिना नपरेका ठाउँका किसानहरु भने खुसी भएका छन् । “फागुन पहिलो साता रोप्नु पर्ने मकै अहिलेसम्म रोप्न सकिएको थिएन,पानीपरेसँगै खेतबारीमा मकै छर्ने चटारो छ” ज्यामरुककोटका कृषक नारायण सापकोटाले बताउनुभयो ।

बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलु लगाउन भने सहज भएको अन्य कृषकहरुको भनाइ थियो। शनिवार र आइतवार जिल्लाको धवलागिरि , मालिका , मंगला,रघुगंगा,अन्नपूर्ण र बेनी नगरपालिका गरी छवटै पालिकामा वर्षा भएको थियो । वर्षासँगै बेकामे बनेका कृषकहरु खेतबारीमा व्यस्त हुने भएका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५देखि ४५ प्रतिशत सम्म कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ ।
विगतका वर्षहरुमा तीन/चार पटक हिमपात भैसक्ने म्याग्दीका उच्च लेकाली क्षेत्रहरुमा यो वर्षभने चैत लागिसक्दा पनि हिमपात हुन सकेको छैन ।

जिल्लाका गुर्जा,मुदी,टाड्के,रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रहरुमा हिमपात नहुँदा पशुपालक कृषकहरुलाई समस्या भएको छ । बुकी र खर्कहरुमा हिमपात नभए पछि घाँस पलाउन नसक्दा पशुपालक कृषकहरुलाई समस्या भएको हो । समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलु लगाएत हिउँदेबालीको उत्पादनमा समेत ह्रास आएको छ भने पशुलाई चरनको समेत समस्या हुने देखिएको किसानहरुले बताएका छन् ।