काठमाडौं := निर्वाचन आयोगले रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त रहेको तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै निर्वाचन गर्ने आयोगले जनाएको छ।
‘निर्वाचन आयोगको आज मिति २०७९ चैत ६ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान ७स्०० बजेदेखि बेलुका ५:०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चैत २० गते उम्मेदवारी दर्ता, २३ गते अन्मित नामावली प्रकाशन गर्ने कार्यसूची रहेको उनले बताए । साथै उक्त उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई मिति २०७९ चैत ८ गतेदेखि मिति २०७९ चैत १२ गतेसम्म नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने गरी दल दर्ताको सूचना जारी आयोगले जनाएको छ ।





















