नीति र नेतृत्व नफेरिनेमा प्रधानमन्त्री प्रचण्ड ढुक्क !

काठमाडौं:= प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक समीकरणमा फेरबदल आए पनि सरकारको नीतिमा परिवर्तन नआउने बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको दोस्रो चौमासिक समीक्षाका लागि मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम नफेरिने जिकिर गर्दै भन्नुभयो– ‘यही सरकारले निरन्तरता पाउनेमा म ढुक्क छु । यस बीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ ।

तर यसको अर्थ सरकारको नीति फेरिँदैन । सरकारको नेतृत्व तलमाथि हुँदैन । मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन । कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ ।’ प्रचण्डले वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने समेत बताउनुभयो ।

कार्यक्रममा उहाँले राष्ट्रपतिको निर्वाचन सकिएको र उपराष्ट्रपतिको निर्वाचनसमेत चैत्र ३ मा भइसकेपछि मन्त्री परिषद् विस्तारले पूर्णता पाउने जानकारी पनि दिनुभयो ।सत्ताको जिम्मेवारीमा पुर्‍याउन सहयोग गरेको नेकपा (एमाले) सहितको गठबन्धनबाट राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा अलगीएसँगै सरकारले विश्वासको मत लिनुपर्ने नैतिक जिम्मेवारी रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपतिको निर्वाचनलगत्तै विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तारको कामलाई चाँडै टुंग्याउने सरकारको तयारी रहेको पनि बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।