रक्षा कार्यविधि परिमार्जन हुँदै, राष्ट्रपतिको सवारीमा सडक खाली नगराइने।

काठमाडौं := गृह मन्त्रालयले सवारी व्यवस्थापन सुरक्षा कार्यविधि परिमार्जन गर्ने भएको छ । अति विशिष्ट र विशिष्ट पदाधिकारीको सवारीका कारण सडकमा हुने अवरोध र सर्वसाधारणले झेल्दै आएको समस्याका कारण बढ्दो जनआक्रोशलाई दृष्टिगत गर्दै कार्यविधि परिमार्जन तयारी गरिएको हो ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतको आवातजावतका समयमा हुने अन्य सवारीसाधन रोकावटका कारण सर्वसाधारणले अनावश्यक दुःख र सास्ती झेल्नु परेपछि आमजनस्तरमा आक्रोश बढेकाले कार्यविधिमा आवश्यक परिमार्जन गर्न प्रस्ताव मन्त्री परिषद्मा स्वीकृतिका लागि लैजाने तयारी गरिएको बताए।

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्नो सवारीका कारण सर्वसाधारणलाई कुनै दुःखकष्ट नहोस् र अनावश्यक तामझाम गर्नु आवश्यक नभएको भन्दै सोहीअनुसार व्यवस्था गर्न गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशनसमेत दिइसक्नुभएको र सोहीअनुसार कार्यविधि संशोधन तयारी भएको प्रवक्ता बस्नेतले बताए ।

उनले भने, “कार्यविधि संशोधन छिट्टै हुन्छ । त्यसपछि विशिष्ट पदाधिकारीको सवारी समयमा सर्वसाधारणले दुःख झेल्नुपर्ने छैन ।”  उनले विशिष्ट पदाधिकारीको सवारीलाई राजकीय सवारी, कार्यालयको सवारी, निजी सवारी, औपचारिक सवारी र अनौपचारिक सवारी भनी सवारी प्रयोजनका आधारमा सवारी व्यवस्थापन तयारी गर्न लागिएको जानकारी दिए ।

यसरी व्यवस्था गर्दा सकेसम्म प्रमुख मार्गलाई कम असर पर्ने गरी वैकल्पिक मार्ग प्रयोग गरिनेसमेत संशोधित कार्यविधिमा उल्लेख गरिएको छ । गृह प्रवक्ता बस्नेतले यी सबै व्यवस्था गर्दा विशिष्ट पदाधिकारीको सुरक्षा र मर्यादालाई पनि उत्तिकै ध्यान दिने विषयमा  मन्त्रालय सजग रहेको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।