एजेन्सी (मुम्बई):= अभिनेत्री प्रियंका चोपडाको बहुप्रतिक्षित हलिउड वेब सिरिज ‘सिटाडेल’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको उक्त सिरिजको ट्रेलरमा प्रियंका जासुसको भूमिकामा देखिनुभएको छ । सिरिजको कथा प्रियंका र अभिनेता रिचर्ड म्याडेनको वरिपरि घुम्छ जसमा उहाँहरूले एजेन्टको भूमिका निभाउनुभएको छ ।
१८५ मिलियन डलरमा निर्माण भएको सिरिजलाई इटाली र भारतमा छायांकन गरिएको हो । विश्व फिल्ममा दोस्रो धेरै कमाउने फिल्म ‘एभेन्जर्स इन्डगेम’का निर्देशक रुसो ब्रदर्सले निर्देशन गरेको ट्रेलर आकर्षक छ ।
थ्रिलर, एक्सन र रोमान्टिक दृश्य समावेश यो सिरिजको ट्रेलरमा प्रियंका र रिचर्डबाहेक स्टेनली टुसी पनि देखिनुभएको छ । ‘सिटाडेल’ को पहिलो दुई एपिसोड आगामी अप्रिल २८ मा रिलिज हुने भएको छ ।
सिरिजमा रिचर्ड, प्रियंका र स्टेनलीका अलावा लेस्ली म्यानभिल, ओसी इखिले, एस्ले कमिङ्स, रोल्यान्ड मोलर र डेभिक सिल्जे, काओलिन स्प्रिंगल हेन्ड्रिक्सको पनि अभिनय छ । अंग्रेजी भाषाबाहेक यो वेब सिरिज हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नडमा पनि आउँदै छ ।




















