काठमाडौं:= मुलुकले भोलि बिहीबार चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउँदै छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेससहितका आठ दलीय गठबन्धनबाट कांग्रेस नेतासमेत रहेका पूर्वसभामुख रामचन्द्र पौडेल उम्मेदवार छन् भने नेकपा एमालेबाट अर्का पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
राष्ट्रपति पदमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्दै पौडेललाई उम्मेदवार बनाएका हुन् ।
एमालेले भने एक्लै नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो । एमालेले १० पुसमा भएको सहमतिनुसार नै राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रसहितको साथ पाउने अपेक्षा गर्दै आएको छ । राष्ट्रपति चयन गर्न भोलि बिहीबार संसद् भवन नयाँबानेश्वरमा निर्वाचन हुँदै छ भने निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ तोकिएको छ ।
निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा ८ सय ८२ मतदाता कायम भएको जनाएको छ । जसअनुसार प्रदेशसभाका ५ सय ५० सदस्य र संघीय संसद्का ३ सय ३२ गरी कुल ८ सय ८२ जना मतदाता कायम भएका हुन् ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।




















