काठमाडौं:= रङैरंङको पर्व फागु अर्थात होली सद्भाव र आत्मियता साटासाट गर्दै मंगलबार तराईमा मनाइँदैछ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ।
पश्चिम कैलाली कंचनपुरदेखी झापासम्म तराईका जिल्लामा आज रंग अबिर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागतरूपमा विभिन्न रङ लगाएर र लोला खेली मनाउने चलन छ ।

होली पर्वसँग त्रेतायुगमा हिरण्यकश्यपुले आफ्ना छोरा प्रल्हादलाई मार्न आगोले नजलाउने क्षमता भएकी आफ्नी बहिनी होलिकालाई प्रल्हादसहित दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर प्रल्हादलाई केही नभएको कथा जोडिन्छ । शक्तिको दुरूपयोग गर्ने प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको खुशीयालीमा फागु खेल्ने परम्परा सुरु भएको मानिन्छ ।
यस पर्वको अवसरमा जनकपुरमा विशेष रौनक छाउने गर्दछ । महामूर्ख सम्मेलनदेखि होरी गाउने प्रतियोगिता समेत आयोजना हुने गर्दछ । होलीका अवसरमा सरकारले तराईका जिल्लामा मंगलबार सार्वजनिक बिदा दिएको छ ।
होली पर्वमा आफूभन्दा ठुला मान्यजनबाट रङ्ग, अबिर लगाएर मिठो मसिनो खाने र आर्सीवाद लिने चलन समेत रहेको छ । पछिल्लो समय घरबाट बाहिर रहेका आफ्ना आफन्तबीच भेटघाट हुने पर्वका रूपमा पनि यो पर्व लिन थालिएको छ ।




















