धनगढी:= सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन् ।
शाहको पक्षमा ४१ र विपक्षमा ११ मत परेको छ । सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।
शाहलाई नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मत दिएका छन् ।
माओवादी केन्द्र र नागरिक उन्मुक्तिले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएसँगै १२ फागुनमा बनेको कांग्रेस नेतृत्वको आठ दलीय गठबन्धनबीच सत्ता सहयात्रा पनि सुरु भएको छ ।




















