प्रधानमन्त्री प्रचण्डमाथी ९ वटा मन्त्रालयको भारी, मन्त्रालयको कामकारबाहीमा समस्या।

काठमाडौं := प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न महत्वपूर्ण ९ वटा मन्त्रालयको जिम्मेवारी आफैं सम्हालेर बसेका छन् । प्रधानमन्त्रीले सम्हालेका गृह, शिक्षा, श्रम रोजगार तथा वन मन्त्रालयजस्ता महत्वपूर्ण मन्त्रालय यतिखेर कामचलाउजस्ता देखिएका छन। यस अतिरिक्त प्रधानमन्त्री प्रचण्डले वन तथा वातावरण, युवा तथा खेलकुद, ऊर्जा जलस्रोत तथा सिँचाइ, सहरी विकास र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पनि आफैंसँग राखेका छन् ।

प्रधानमन्त्रीले सम्हालेका प्रायः सबै मन्त्रालयको कार्यसम्पादन मन्त्रीको अभावमा कमजोर देखिन थालेको मन्त्रालयका अधिकारीको भनाइ छ । ‘मन्त्रालयमा मन्त्री नहुँदा स्वाभाविक असर पर्छ, प्रधानमन्त्री आफैं मन्त्रालयमा आउने कुरा भएन्, त्यसैले अहिले मन्त्रालयको काम प्रभावकारी हुन सकेको छैन,’ मन्त्रालयका एक सचिवले राजधानीसँग भने । ती मन्त्रालयको कामकारबाहीमा समेत समस्या परिरहेको बताइन्छ । मन्त्रालयमा मन्त्रीले विभिन्न नीतिगत योजना र कार्यक्रम ल्याउन नियमित रूपमा छलफल समेत गर्नुपर्नेहुन्छ ।

हाल प्रधानमन्त्रीले सम्हालेका नौवटा मन्त्रालयमा त्यस प्रकारका छलफल र नीति निर्माणलगायतका कार्यक्रम अवरुद्ध भएको हो। प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेका मन्त्रालयका सचिवले मन्त्रालयको कुनै पनि नीतिगत निर्णय लिनुपरेमा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार धाउनुपर्ने अवस्थासमेत छ । सिंहदरबारमा समेत सचिव प्रधानमन्त्रीलाई भेट्न लाइन लाग्नुपर्ने अवस्था रहेको बताइन्छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।