गठबन्धनको पासोमा नयता नउता प्रचण्ड: इमानदारितामाथि प्रश्न उठाउँदै केपी ओली।

काठमाडौं := नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनप्रति प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको इमानदारितामाथि प्रश्न उठाउनुभएको छ। बुधबार प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष ओलीले प्रचण्डको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रचण्डको इमान्दारीतामाथि प्रश्न उठाउनुभएको हो ।

ओली निकट एमाले नेता विशाल भट्टराईले भन्नुभयो– ‘उहाँले गठबन्धनप्रति तपाईंको इमानदारिता छ कि छैन भन्दै प्रष्ट पार्न प्रचण्डलाई आग्रह गर्नुभएको छ । अध्यक्ष कमरेडले सत्ता गठबन्धन निर्माण भएको बेलाको राजनीतिक सहमति पालना गर्ने कुरामा प्रधानमन्त्री प्रचण्डको भूमिकाका विषयमा जिज्ञासा राख्नुभयो । यही गठबन्धनलाई कायम राख्ने कुरामा प्रचण्डले पनि सकारात्मक भएको प्रतिक्रिया दिनुभएको छ ।

यद्यपि, राष्ट्रपतिका विषयमा गठबन्धनभन्दा बाहिर गएर निर्णय भयो भने हामी यही गठबन्धन छ भनेर सरकारमा बसिरहने अवस्था हुँदैन ।’ पुस १० मा सरकार बनाउँदा सत्ता गठबन्धनका नेताहरूबीच प्रधानमन्त्री माओवादीलाई, सभामुख र राष्ट्रपति एमालेलाई र गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने लिने सहमति भएको एमालेको दाबी छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा एमालेले आफूले राष्ट्रपति पाउनुपर्ने र माओवादीले साझा सहमतिको राष्ट्रपतिको अडान नछाडेपछि सत्तासीन दल एमाले–माओवादीबीच खटपट देखिएको छ । त्यही खटपटलाई तत्कालका लागि साम्य बनाएर राष्ट्रपति हात पार्न ओलीले नयाँ रणनीतिस्वरूप राजनीतिक बजारमा नयाँ विकल्पहरू फाल्न थाल्नुभएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।