डा.रुइतलाई १४ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय ‘इसा अवार्ड’ पुरस्कार।

काठमाडौं := वरिष्ठ नेत्र चिकित्सक डा.सन्दुक रुइतलाई १४ करोड रुपैयाँ बराबरको ‘इसा अवार्ड’ प्रदान गरिएको छ । डा. रुइतलाई ‘मानवताका लागि सेवा’ गरेबापत बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित इसा अवार्ड प्रदान गर्नुभएको हो।डा. रुइतलाई मंगलबार बहराइनको राजधानी मनामास्थित इसा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा खालिफाले एक मिलियन डलर राशि (झण्डै १४ करोड रुपैयाँ) को पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको हो ।

समारोहमा राजा खालिफाले डा. रुइतले सबैभन्दा योग्य, अमूल्य र प्रभावकारी काम गर्दै आएको बताउनुभयो । यस्तै, इसा अवार्ड कमिटीका अधयक्ष सेख मोहम्मद बिन मुबारक अल खलिफाले पनि डा. रुइत मानवहितकारी अर्थमा संसारकै लागि उदाहरण रहेको बताउनुभयो । आफना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुइ वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै व्यक्ति÷संस्थालाई प्रदान गरिँदै आएको छ ।

डा.रुइतलाई ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो । समारोहमा बहराइन सरकारका मन्त्रीहरू तथा र विशिष्ट आगन्तुकगणको उपस्थिति थियो । यस्तै, बहराइनस्थित राजदूत तीर्थराज वाग्ले र मानमास्थित कूटनीतिक समुदायको उपस्थिति थियो ।

यो अवार्डका लागि १३९ जना व्यक्ति र संस्थाहरू छनोटमा परेका थिए । जसमध्ये छनोट समितिले सुरुमा ६ जना संस्था/व्यक्ति छनोट गरेको थियो । अमेरिकास्थित मर्सी सिप, बंगालादेशको फ्रेन्डससिप एनजिओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्विटजरल्याण्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउण्डेसन र नेपालका डा. सन्दुक रुइत पाँच जनाभित्र पर्नुभएको थियो । उनीहरू सबैको विषयमा अध्ययन र उनीहरूको कामका विषयमा अध्ययन गरिसकेपछि डा. रुइतलाई अवार्ड दिने निर्णय गरिएको थियो ।

इसा अवार्ड पहिलोपटक मलेसियाकी प्रतिष्ठित चिकित्सक जेमिला महमुदले २०१३ मा पाउनुभएको थियो । दोस्रो अवार्ड(२०१५) भारतका शिक्षाविद् अच्युता सामन्तले र तेस्रो (२०१७) इजिप्टको चिल्ड्रेन क्यान्सर हस्पिटललाई प्रदान गरिएको थियो । चौथो अवार्ड भने पाकिस्तानको प्रतिष्ठित सामाजिक सेवक संस्था इधी फाउण्डेसनलाई प्रदान गरिएको थियो ।

सन् २००९ मा स्थापना भएको हो यो अवार्ड वितरण भने सन् २०१३ देखि सुरु भएको हो। डा.रुइतले यसअघि प्रतिष्ठित म्यागासेसे पुरस्कार, भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार, अनररी अफिसर अफ द अर्डर अफ अष्ट्रेलिया रामोन लगायतका अन्तर्राष्ट्रिय अवार्ड पाइसक्नु भएको छ ।