क्वालालम्पुर (मलेसिया):= हिमालयन फुटबल क्लबद्वारा मलेसियामा शाहालामको पानासोनीक रंगशालामा यहीँ जनवरी २२ तारिखदेखी २४ तारिखसम्म आयोजित पाँचौ हिमालयन गोल्डकप २०२३ को उपाधि आयोजक क्लब हिमालयन फुटबल क्लबले जितेकोछ।
यस गोल्डकप फुटबलमा मलेसियाको नेपाली १९ वटा उत्कृष्ट फुटबल क्लबहरुले सहभागीता जनाएको थियो । हिमालयन फुटबल क्लबले फाईनलमा रिया सुम्निमा फुटबल कलब इपो संग ३-० को गोल अन्तरले उपाधि जितेको हो ।
विजेता हिमालयन फुटबल क्लबलाई २५ हजार मलेसियन रिंगेट नगद पुरस्कार, ट्रफी र मेडल साथै उपविजेता रिया सुम्निमा फुटबल क्लबलाई १० हजार नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिएको थियो ।

साथै उत्कृष्ट गोल रक्षक रिया सुम्निमा फुटबल क्लबका बिशाल राई बनेको थियो भने हिमालयन फुटबल क्लबका क्याप्टेन राजकुमार कुमाल उत्कृष्ट खेलाडी र रोजेश श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भएका थिए ।
हिमालयन फुटबल क्लबले नकआउट चरणमा गोर्खा फुटबल कलबलाई, क्वाटर फाईनलमा ड्राइगन फुटबल क्लबलाई जित्दै सेमिफाइनलमा जेबी युनाईटेड फुटबल क्लबलाई ३-० को गोल अन्तरले पराजित गर्दै फाईनलमा पुगेको थियो ।

यस्तै रिया सुम्निमा फुटबल क्लबले नकआउटमा न्यु एनआरटी फुटबल क्लब र क्वाटर फाईनलमा पाथिभरा फुटबल क्लबलाई जित्दै सेमिफाइनलम एनएफसी पेनाङ संग ४-२ को गोल अन्तरले जित हासिल गर्दै फाईनलमा प्रवेश गरेको थियो ।
उद्घाटन समारोहका प्रमुख अतिथी नेपाली राजदुतावास मलेसियाका राजदुत डिल्लराज पौडेलले सम्बोधन गर्दै हिमालयन गोल्डकपले मलेसियामा रहेको सम्पुर्ण नेपालीहरुको शारिरीक, मानसिक स्वस्थ्य र सृजनशिलतामा टेवा पुराउनका साथै सद्भाव र एकतामा ठुलो सहयोग पुगेको बताएका थिए । यस किसिमको सकारात्मक र सृजनशिल कार्यमा दुतावासको सधै साथ रहने बताउदै सम्पूर्ण सहभागी क्बलहरु र आयोजकलाई शुभकामना र धन्यबाद ज्ञापन गरेका थिए ।

पाँचौं हिमालायन गोल्डकप २०२३ को उद्घाटन खेल नेपाली दुतावास मलेसिया र रिया आईएमई रेमिटेन्स टिमको मैत्रीपुर्ण खेलबाट भएको थियो । यस खेलमा रिया आईएमईले ३-२ गोल अन्तरले जित हासिल गरेको थियो ।
हिमालयन फुटबल क्लब नेपालको पहिचानयुक्त फुटबल क्लब भएकोले मलेसियामा रहेका सबै नेपालीहरुको साथ सहयोगले उत्कृष्ट तवरले प्रतियोगिता सम्पन्न भएकोमा हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले सहयोगी, प्रायोजक, कलकार साथै संचारकर्मीहरुलाई धन्यबाद ब्यक्त गरेको थियो । साथै छैठौं हिमालयन गोल्डकप आउदो हरिरायामा आयोजक हुने अध्यक्ष कार्कीले जानकारी गराएको थिए।




















