राष्ट्रिय वाणिज्य बैंकको ५८ औं वार्षिकोत्सव सम्पन्न,‘अब सार्वजनिक संस्थानमा राजनीतिक हस्तक्षेप हुँदैन’

काठमाडौं := राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सव समारोह माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा मंगलबार एक समारोहकाबीच सम्पन्न भएको छ । कार्यक्रममा माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलकाले अर्थतन्त्रमा रहेको चुनौती समाधान गर्न राष्ट्रिय वाणिज्य बैंककोे भूमिका सकारात्मक रहने बताए ।

बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक विकासमा थप योगदान गर्नुुपर्ने बताए । उनले बैंकले आगामी दिनमा नाफामा भन्दा गुणस्तरीय सेवामा प्रतिस्पर्धा गरी अन्य बैंकको तुलनामा अग्रणी हुनुपर्ने बताए । उनले संस्थागत सुशासन, पारदर्शिता, भ्रष्टचारमुक्त र शुन्य सहनशिलता नीति अपनाउनपर्ने बताए ।

साथै अर्थमन्त्री पौडेलले सार्वजनिक संस्थानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताउनुभयो । सार्वजनिक संस्थानमा व्यावसायिक दृष्टिकोणले सक्षम पात्रलाई प्रतिस्पर्धाका माध्यमबाट व्यवस्थापनको जिम्मेवारी दिनुपर्ने उहाँको भनाइ छ। उहाँले आफू अर्थ मन्त्रालयको जिम्मेवारीमा रहँदासम्म सरकारतर्फबाट बैंक, नेपाल राष्ट्र बैंक वा अन्य संस्थानमा कसैप्रति कुनै पनि राजनीतिक हस्तक्षेप नहुने दाबीसमेत गर्नुभयो । मन्त्री पौडेलले भन्नुभयो, ‘राजनीतिक हस्तक्षेप भएको देखिए मन्त्रालयमा खबर गर्नुस्, अब राजनीतिक हस्तक्षेपको चिन्ताबाट बाहिर आउनुपर्छ ।’

प्रमुख अतिथि एवं माननीय विष्णुप्रसाद पौडेलले कार्यक्रममा परिष्कृत गरिएको मोवाइल बैंकिङ्गकलाई आरबिबि डिजिटल संसार एप्स्को शुभारम्भ गरेका थिए । बैंकको ५८ औं वार्षिककोसवको अवसरमा प्रकाशन गरिएको विशेषाङ्क स्मारिका उपहार–२०७९ विमोचन गरेका थिए । कार्यक्रममा पूर्वकर्मचारी सम्मान कार्यक्रम, उत्कृष्ठ शाखा कार्यालय, सर्वोत्कृष्ठ/उत्कृष्ठ बैंक सेवा पुरस्कार घोषणा गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलेनेपाल राष्ट्र बैंकले लिने नीति समग्र अर्थतन्त्रको विकासको लागि हुने र राष्ट्र बैंकले ल्याउने नीति अग्रणी रुपमा राष्ट्रिय वाणिज्य बैंकले कार्यन्वयन गर्ने गरेको बताए । उनले अहिले नीजि क्षेत्रका बैंकहरुको मर्जरले लिएको गतिले बैंकहरुको आकार बढीरहेको अवस्थामा आवश्यक परेमा तीनवटा सरकारी बैंक मिलेर मर्जको लागि आपसमा कुरा गर्न सकिने बताए ।

बैंक संचालक समितिका अध्यक्ष डा.बलराम पाठकले नेपाल सरकारले लिएका अर्थतन्त्र सबलीकरण सम्बन्धी नीतिहरुको सफलतापूर्वक कार्यान्वयन गर्न, नियमनकारी निकायहरुको निर्देशन पालना गर्न र सुशासनका माध्यमबाट संस्थागत कार्यदक्षतामा सुधार ल्याई बैंकिङसेवा प्रवाहलाई थप प्रतिस्पर्धात्मक एवं उत्तरदायीपूर्ण बनाउन भूमिका निर्वाह गर्ने ध्येयका साथ बैंकलाई आगामी दिनमा अगाडि बढाउने बताए ।