नियम पालना नगर्ने नेपाल वायुसेवाका पाँच पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन।

काठमाडौं:= नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाँचजना पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको छ।

एयर ट्राफिक कन्ट्रोलरको निर्देशन पालना नगरेको कसुरमा नेपाल वायुसेवा निगमका ५ जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिइएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताए।

उनका अनुसार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेपछि पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा तथा काठमाडौँबाट जापान उड्ने क्रममा स्टान्डर अप्रेशनल प्रोस्युड्युल पालना नगरेकाले प्रशन्न राना र वाइपी जुवारचनलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो।

जहाज विमानस्थलमा अवतरण गर्दा एटीसीको नियम पालना गर्नुपर्ने तथा उसैको निर्देशनअनुसार अवतरण गर्नुपर्ने हुन्छ। नेपाल वायुसेवा निगमका पाइलटले त्यसलाई फलो नगरेको पाइएपछि कारबाहीका लागि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणको निर्देशनसँगै निगमले पाँचै पाइलटलाई निलम्बन गर्नुपर्ने र त्यसपछि, प्राधिकरणले ती पाइलटलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने प्रवक्ता निरौलाले जानकारी दिए।