ग्लोबल र बिओकेको एकीकृत कारोबार सुरु, निजी क्षेत्रको लगानी प्रवद्धनमा प्रधानमन्त्री प्रचण्डको जोड।

काठमाडौं:= ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू(बिओके) बीच एकीकृत कारोबार सुरु भएको छ । सोमबार काठमाडौंमा एक भव्य कार्यक्रम गरी दुई बैंकबीच एकीकृत कारोबार सुरु भएको हो । एकीकृत कारोबारसँगै कुल सम्पत्ति पाँच खर्ब पाँच अर्ब, कुल पुँजी ५७ अर्ब, कुल निक्षेप चार खर्ब १२ अर्ब, कुल कर्जा लगानी तीन खर्ब ७७ अर्ब, ग्राहक संख्या ४० लाखसहित देशको सबैभन्दा ठूलो बैंक बनेको छ ।

एकीकृत कारोबारको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न नतिजामुखी काममा जोड दिनुभएको छ । अर्थतन्त्रमा देखिएका समस्या समाधानकै लागि पहिलो मन्त्रिपरिषद्को बैठकबाटै अर्थतन्त्रलाई गतिशील बनाउन वित्तीय, औद्योगिक र मौद्रिक नीतिको सन्तुलित कार्यान्वयन गर्न निजी क्षेत्रसँगको सहकार्यलाई वस्तुपरकरूपमा घनिभूत गराउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले वित्तीय, मौद्रिक, पुँजी बजार, सहकारी, बीमा र निजी कम्पनीका निकायबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले दुई ठूला बैंक एक आपसमा गाभिएर एकीकृत कारोबार शुभारम्भ हुनु राष्ट्रका लागि महत्वपूर्ण कदम भन्दै यसबाट देशले अझ बलियो, थप विविध र थप गतिशील बैंकिङ क्षेत्र प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मर्जरलगायतका क्रियाकलापपछि ठूला परियोजनामा स्रोत जुटाउन सहज हुने, अझ बढी दक्षता वृद्धि हुने र वित्तीय क्षेत्रमा कहिलेकाहीँ देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हट्ने भन्दै उहाँले नागरिक र सेवाग्राहीको पहुँचमा भने ह्रास आउनु नहुनेमा सचेत गराउनुभयो ।

मुख्य सचिव शंकरदास बैरागीले सरकार निजी क्षेत्रको मनोबल उठाउन गम्भीर रहेको भन्दै निजी क्षेत्रका मनोबल उठाउन सरकारले थप प्रभावकारी कदम चाल्ने बताउनुभयो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय संस्था धेरै हुँदा वित्तीय खर्च धेरै बढेको र अस्वस्थ प्रतिस्पर्धासमेत बढेकाले मर्जरमा जोड दिएको भन्दै मर्जरबाट बैंकिङ क्षेत्रमा उल्लेख्य सुधारका साथै वित्तीय मध्यस्थताको लागतसमेत घटेको जिकिर गर्नुभयो ।

ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई र बिओके मर्जरपछि ग्लोबल आइएमई बैंक नम्बर वान बनेको भन्दै दुई बैंकबीचको मर्जर सम्पूर्ण बैंकिङ क्षेत्रकै लागि ऐतिहासिक भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पाँच वाणिज्य बैंक, १० विकास र छवटा फाइनान्स कम्पनी गरी २१ संस्थाको एउटा बैंक बनेको छ, दुई बराबर दुई चार होइन, पाँचको नीतिमा गएको छ, हाम्रो मर्जरले अन्य संस्थालाई पनि मर्जरमा जान प्रोत्साहन गरेको छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मर्जरले बैंक सबल बन्ने र सबल बैंकले अर्थतन्त्र सबल बनाउन सहयोग पुग्ने बताउनुभयो भने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले ग्लोबल आइएमई बैैंकलाई सफल मर्जरका लागि शुभकामना दिँदै ग्लोबल आइएमई बैंकको नेतृत्वमा ब्याजदर घटाउन पहल गर्न आग्रहसमेत गर्नुभयो । बिओकेका अध्यक्ष प्रकाश श्रेष्ठले बैंकको पुँजीगत आधार विस्तार गर्दै क्षमता विकास गर्न मर्जरमा गएको जानकारी गराउँदै मर्जरले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकारात्मक भूमिका रहने बताउनुभयो ।

बिओकेका सञ्चालक तथा संयुक्त मर्जर कमिटी संयोजक राधेश पन्तले मर्जरको पहिलो सम्झौता भएको छ महिनाभित्र मर्जर सम्पन्न भएको जानकारी गराउनुभयो । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बंैकबाट अध्यक्षमा ढकालसहित पाँचजना र बिओकेबाट दुईजना रहनेछन् भने बैंकको प्रमुख कार्यकारी अधिकृतमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनुहुनेछ । मर्जरपछि कुल तीन सय ६५ शाखा कार्यालय, तीन सय ६७ एटिएम, दुई सय ८६ शाखारहित सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीन विदेशस्थित सम्पर्क कार्यालय पुगेको छ ।