एजेन्सी := विश्व फुटवको इतिहासमा महान् र चर्चित खेलाडीको उपनाम बनाएका फुटबलका जन्मदाता भनेर चिनिने ब्राजिलियन लेजेन्ड खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। ८२ वर्षीय पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो।
मृगौला र प्रोस्टेट रोगबाट ग्रसित पेले उपचारका लागि एक महिनाअघि अस्पताल भर्ना भएका थिए। अस्पतालमा उपचारकै क्रममा पेलेको मृत्यु भएको उनको परिवार र आफन्तले जनाएको अन्तर्राष्ट्रिय समाचारहरुले जनाएका छन्।
ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप फुटबलको उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ। लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ।
पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो। पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका थिए। उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका थिए। फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो ।




















