के कांग्रेस पार्टीभित्र परिवर्तनको हुटहुटीले शेरबहादुर देउवालाई रोक्न सक्ला ?

काठमाडौं := प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भोलि हुने संसदीय दलको निर्वाचनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार नेताको साथ रहेको कांग्रेस नेताले दाबी गरेका छन् ।

एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले सभापति देउवालाई साथ दिने बताइसक्नुभएको छ । साथै वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै रहनुभएको छ ।

यता कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा शशाङ्क कोइरालाले पनि आफू सभापति देउवाका साथमा रहेको बताउनुभएको छ । उहाँले हालै एक सार्वजनिक कार्यक्रममा मुलुक हाँक्न अनुभवी तथा परिपक्व नेता आवश्यक रहेकाले देउवा नै संसदीय दलको नेता चुनिने बताउनुभएको थियो ।

उहाँहरुको साथले सभापति देउवा संसदीय दलको नेता निर्वाचित हुने निश्चित भएको प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सभापति देउवा झण्डै दुई तिहाइ बहुमतको नजिकमा हुनुहुन्छ, उहाँलाई कांग्रेसका सांसदले प्रत्यक्ष भेटेर पनि मतदान गर्ने बचन दिनुभएको छ । संसदीय दलको अङ्क गणितमा देउवालाई करिब ७६ सांसदको समर्थन रहने देखिएको छ ।”

साथै नेपाली कांग्रेसमा पार्टीको सभापति नै संसदलीय दलको नेता हुने प्रचलन पनि रही आएको छ । विगतमा एकपटक पार्टी सभापति र संसदीय दलको नेता फरक फरक व्यक्ति हुँदा पार्टीमा विभाजन नै आएकाले यसखालको द्वन्द्व सिर्जना नहोस् भनेर पनि सभापतिनै संसदीय दलको नेता हुनुपर्ने धारणा अधिकांश सांसदको रहेको छ ।

यता देउवासँग संसदीय दलको नेताकोप्रतिस्पर्धाका लागि महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिनुभएको छ। इतर समूहमा दुई दिन चलेको छलफल पछि उसले गगन थापालाई संसदीय दलको नेताको रुपमा अघि सार्ने निर्णय गरेको हो । थापालाई कांग्रेसका प्रभावशाली युवा नेताहरूको समेत समर्थन देखिएको छ ।

संस्थापन इतर पक्षबाट पार्टी सभापति देउवाविरुद्ध उम्मेदवार बनेका थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले समर्थन गर्नुभएको छ । कांग्रेसका प्रदीप पौडेल, मिनेन्द्र रिजालसमेतले थापालाई साथ दिनुभएको छ । मिनेन्द्र भने सांसद हुनु होइन। तर, उहाँनिकट सांसदहरूसँग गगनको पक्षमा मत मागिरहेका छन् ।

कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएको छ । यद्यपि, संसदीय दलमा सभापति देउवाको बहुमत रहेको आँकलन छ । कांग्रेस भित्रैका नेताहरु समेत गगनको संसदीय दलको नेता बन्ने भन्दा पनि एक प्रकार आन्दोलन भित्रको रहर अनि वाध्यता दुबै भएको बताउन थालेका छन् ।

बदलिएको समय र सोच बमोजिम काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा लैजानुपर्नेमा अर्का महामन्त्री विश्वप्रकाश शर्माले बताउनु भएको छ । चुनाव अघि नै गगनको पक्षमा बोल्दै आउनु भएको शर्मा यतिबेला खुलेर शेखर–गगनसमूहमा लाग्नुभएको छ ।

उहाँले बदलिएको समय, बदलिएको सोच बमोजिम काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशामा जाने गर्व र खुड्किलोको रुपमा पार्टीका नेता डा. शेखर कोईरालाले युवामा सत्ता पुस्तान्तरणको लागि महामन्त्री थापालाई संसदीय दलको नेताको रुपमा प्रश्तावक गर्नु गर्वको विषय भएको समेत बताउनु भयो ।

उहाँले संसदीय दलको नेता बनिसकेर देशलाई नेतृत्व गर्ने भन्ने आकांक्षा सबैमा हुने गरेको भन्दै सत्ता पुस्तान्तरणको पहिलो खुड्किलो डा. कोईरालाले गर्नुभएको बताउनु भएको थियो ।

तत्कालीन अंक गणित हेर्दा बलियो देखिनुभएको देउवालाई पराजित गरेर गगनले जित्नेमा इतरपक्ष नै विस्वस्त छैन । तर, गोप्य चुनाव भएकाले यसै भन्नसक्ने अवस्था नभएको उनीहरु बताउँछन् ।

कांग्रेसले गत चुनावमा प्रत्यक्षमा ५७ सीट जितेको छ भने समानुपातिकमा ३२ गरी कुल सांसद ८९ छन् । कांग्रेसमा पुस्तान्तरणको आवाज उठिरहेका बेला युवा नेताहरूमा समेत कांग्रेस परिवर्तनको हुटहुटी देखिएकाले यसै भन्न नसकिने कांग्रेस नेताहरुको भनाइ छ ।

कांग्रेस संसदीय दलको नेताको निर्वाचन भोलि बुधबार बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुने भएको छ । दलको नेतामा सभापति देउवा र कांग्रेस महामन्त्री थापाको उम्मेदवारी परेको छ ।