क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया शाखा तथा हिमालयन फुटबल क्लब मलेसियाद्वारा आयोजित नेपाली खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको छ।
गैरआवासीय नेपाली संघ मलेसियाको सभा हलमा सम्पन्न सम्मान कार्यक्रममा पाङकोर आइस्ल्याण्ड इन्टरनेसनल तेक्वान्दो च्याम्पियनशीप- २०२२ खेलमा मलेसियामा नेपालको लागि ७ वटा गोल्ड मेडल र ५ सिल्भर मेडल जित्न सफल खेलाडिहरुलाई मलेसियामा सम्मान तथा ६० हजार रुपैयाँ प्रोत्साहन नगद पुरस्कार प्रदान गरिएको हो।
मलेसियामा आयोजित उक्त च्याम्पियनशीपमा नेपालको प्रतिनिधित्व गर्दै १० खेलाडिहरु सहभागी भएका थिए । च्याम्पियनशीपमा सन्तोष भट्टले ब्राण्डोम तर्फ गोल्ड, महमद उमर खानले पेयर पुम्से तर्फ गोल्ड, सुनिता बिष्टले पेयर पुम्से तर्फ गोल्ड, सुस्मा थापाले फिन तर्फ गोल्ड, निकेश बिश्वकर्माले लाईट तर्फ गोल्ड, सक्षम चौधरीले पुम्से तर्फ गोल्ड, अवास खानले लाईट तर्फ सिलभर, जैनव खातुनले पुम्से तर्फ सिल्भर, सोनाम गैरेले फिन तर्फ गोल्ड, महमद उमर खानले सिंगल पुम्से तर्फ सिल्भर, सुनिता बिष्टले सिंगल पुम्से तर्फ सिलभर मेडल जित्न सफल भएका थिए ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष बिनेद थापा र हिमालयन फुटबल क्लबका अध्यक्ष सन्तोष कार्कीले नगद पुरस्कार प्रदान गरेका थिए । साथै अध्यक्ष थापा र कार्की लगायतले बधाई मन्तब्य मार्फत खेलाडीहरुलाई बधाई साथै शुभकामना दिएका थिए ।
यस च्याम्पियनशीपका प्रमुख सन्तोष भट्ट तथा प्रमुख प्रशिक्षक रोशन खानले सम्मान र सहयोगको लागि धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि नेपाललागि अझै धेरै मेडल जित्दै देशको झण्डा फर्फराउन उत्साह प्रादन भएको बताउदै धन्यबाद ज्ञापन गरेका थिए ।




















