कांग्रेस १४औँ महाधिवेशन : ३२ जिल्लामा नयाँ नेतृत्व चयन, ६४ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न।

काठमाडौं:= नेपाली कांग्रेसको १४औं महाधिवशनअन्तर्गत ३२ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ मध्ये ३२ जिल्लामा नयाँ नेतृत्व चयन भएको निर्वाचन समिति सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँकी तीन जिल्लामा पनि अधिवेशन जारी छ । ‘एक मात्रै निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये ३२ वटामा जिल्ला अधिवेशन सकियो । ती जिल्लाले कांग्रेसको नयाँ नेतृत्व पाएको छ । तीनवटामा जारी छ,’ उहाँले हिमालय टाइम्ससँग भन्नुभयो, ‘एक मात्रै निर्वाचन क्षेत्र भएका धनकुटा, रसुवा र दार्चुलामा बाँकी छ । तीनै जिल्लाको प्रक्रिया अघि बढ्दै छ ।’

त्यस्तै, दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ४२ जिल्लामध्ये ३२ वटामा क्षेत्रीय अधिवेशन सकिएको उहाँले जानकारी दिनुभयो । बाँकी १३ जिल्लामा पनि अधिवेशन जारी रहेको उहाँको भनाइ छ । ‘एकभन्दा बढी निर्वाचन क्षेत्र भएका ४२ जिल्लामध्ये ३२ वटामा क्षेत्रीय अधिवेशन सकियो,’ उहाँले भन्नुभयो,

‘बाँकी १३ जिल्लामा चुनावी प्रक्रिया अघि बढिरहेको छ ।’ दुईभन्दा धेरै क्षेत्र रहेका ४२ जिल्लामध्ये सर्लाहीमा भने क्षेत्रीय अधिवेशन पनि सुरु हुन सकेको छैन । त्यहाँ बिहीबार अधिवेशन सुरु हुने श्रेष्ठले जानकारी दिनुभयो । जिल्ला अधिवेशन हुन बाँकी रहेका ४२ जिल्लामा यही मंसिर १० गते जिल्ला अधिवेशन हुनेछ ।

कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन/एक क्षेत्र मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६ (सोमबार)बाट सुरु भएको हो । यसैगरी, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यही मंसिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुनेछ ।

उपसभापति निधिले अवधाणापत्र सार्वजनिक गर्दै

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गर्नुभएका उपसभापति विमलेन्द्र निधिले बिहीबार अवधारणापत्र सार्वजनिक गर्नुहुने भएको छ । बिहीबार दिउँसो १ बजे उहाँले आफ्नो सम्पर्क कार्यालयमार्फत उम्मेदवारी र आफू निर्वाचित भए कस्तो कांग्रेस बन्छ ? भन्ने सन्दर्भमा तयार पारेको अवधारणापत्र सार्वजनिक गर्न लाग्नुभएको हो ।

सोमबार मात्रै उपसभापति निधिले सभापतिमा आफ्नो उम्मेदवारी किन ? भन्दै २३ कारण सार्वजनिक गर्नुभएको थियो। उहाँले वैचारिक रूपमा स्पष्ट कांग्रेस, एकताबद्ध कांग्रेस र गतिशील कांग्रेस भन्ने नारासमेत अगाडि सार्नुभएको छ ।