रेनाशा राई कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित, भन्छिन्: राजनीतिमा सक्रिय भएर लाग्छु।

इलाम:= निर्देशक तथा चर्चित कोरियोग्राफर रेनाशा वान्तवा कांग्रेसको महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्। इलाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिको चुनाव भिडेकी रिनाशा महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन्।

रिनाशाले आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दर्ता गराएकी थिइन्। तीन जना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँच जनाको उम्मेद्वारी परेको थियो । रिनाशाले पाँचौ मत पाइन्।

यो कोटाबाट चन्द्रमाया लिम्बू (६८३), बबिता लिङ्म (५१४) र जुनुकुमारी माखिम (४५५) मत पाएर केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिए। महाधिवेशन प्रतिनिको दौडमा चौथो भएकी सरिता श्रेष्ठले (४२२) र पाँचौ भएकी रिनाशाले (३४३) मत पाए।

इलामको चुलाचुली पुर्ख्याैली घर भएकी रिनाशा केही समयअघि मात्रै इलाम आएकी थिइन्। रिनाशा ‘इन्टुमिन्टु लन्डनमा’ चलचित्रकी निर्देशक हुन् । उनले सयौ गीतमा कोरियाग्राफर गरेकी छन्। १५ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा क्रियाशील उनी आफ्नो क्षेत्रमा स्थापित छिन्।

रेनशाले सञ्चारकर्मीसंगको कुराकानीको क्रममा सामाजिक सेवाका लागि आफू राजनीतिमा आउन लागेको बताइन् । ‘म समाजसेवाका लागि राजनीति गर्न चाहन्छु। फेरि, राजनीतिको अवस्था फेर्नका लागि युवापुस्ता यहाँ नआई पनि हुँदैन । यसैले म राजनीतिमा सक्रिय हुन लागेकी हुँ,’ उनले भनिन् ।

रेनशा कांग्रेस कार्यकर्ता नरेन्द्रकुमार बान्तवाकी छोरी हुन् । उनले गाउँ र जिल्लामा आफूले योगदान गर्ने सोचका साथ राजनीतिमा लाग्ने तयारी गरेको पनि बताइन् । चलचित्रको करिअर भने सुखद् ढंगले नै अगाडि बढाइरहेकी रेनशाको दोस्रो चलचित्र ‘आई एम ट्वान्टी वान’ रिलिजको तयारीमा छ ।