वैदेशिक राेजगारीको निम्ति जुन ७ देखि कतार भिसा सेन्टर खुल्ने।

काठमाडौं := जुन ७ देखि नै कतार र नेपालबीच हप्तामा एक दिन उडान सुरु  हुने भएपछि कतार भिसा सेन्टर पनि सञ्चालनमा आउने भएकाे छ।

कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लागू भएसँगै बन्द भएको भिसा सेन्टर जुन ७ र ८ मा ५०/५०  जनाको स्लट खुला हुनेछ  । जुन ९ देखि भने प्रत्येक दिन दुई सय जनाको स्लट खुल्ला हुनेछ ।

कतार भिसा सेन्टरबाट वैदेशिक रोजगारीमा जाने कामदारहरूको बायोमेट्रिक र स्वास्थ्य परीक्षणको काम हुन्छ ।   कतार भिसा सेन्टरमार्फत कतारमा हुने स्वास्थ्य परीक्षण, बायोमेट्रिक र करार सम्झौता प्रमाणीकरणको काम हुन्छ । स्वास्थ्य जाँचमा आँखा, स्वास्थ्य अवस्था, उचाइ, मोटाई र रक्तचाप जस्ता कुराको जाँच गरिन्छ ।

यसैगरी छातीको एक्सरे, एचआईभी परीक्षण, हेपटाइटिस बी र हेपटाइटिस सी, मधुमेह, एसजीओटी, गर्भावस्था जाँच, मलेरिया र माइक्रो फिलारियल पारासाइट, रगतको मोटोपन लगायतका परीक्षण गरिन्छ । बायोमेट्रिकमा आईआरआईएस र अनुहारको फोटो , हत्केलासहितको दशवटै औंलाको औंठा छाप लिइन्छ ।

कतार भिसा सेन्टरबाट निःशुल्क सेवा पाइन्छ । बायोमेट्रिक र स्वास्थ्य परीक्षण गर्दा लाग्ने शुल्क रोजगारदाताले नै कतारको मिनिस्ट्री अफ इन्टेरियरलाई तिरिदिएको हुन्छ । कतार जाने नेपाली कामदारले सेन्टरबाट सेवा लिए बापत एक रुपैयाँ पनि तिर्नु पर्दैन । भिसा सेन्टरबाट कतारमा पाउने सेवा सुविधा सहितको करार सम्झौताबारे सेन्टरबाटै जानकारी पाइन्छ । #उज्यालो