प्राविधिकहरूलाई स्वस्तिमाको सहयोग।

काठमाडौं:= नेपाली चलचित्र क्षेत्रका तीन सय बढी प्राविधिकहरू निषेधाज्ञामा आर्थिक समस्यामा परेको भन्ने थाहा पाएपछि नायिका स्वस्तिमा खड्काले सहयोग अभियान सुरु गर्नुभएको छ ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले कोरोना भाइरसको महामारीबीच भएको निषेधाज्ञाका कारण प्राविधिकहरूको जीविकोपार्जनका लागि समस्या भइरहेको जानकारी गराउनु भएको थियो ।

नायिका स्वस्तिमाले सामाजिक सञ्जालमा भिडियोमार्फत भन्नुभएको छ, ‘यतिबेला हामी असामान्य परिस्थितिसँग गुज्रिरहेका छौं । यस्तो बेलामा सरकारको प्राथमिकतामा चलचित्र उद्योग पर्न सकेको छैन ।कोरोनाका कारण चलचित्र निर्माण भइरहेका छैनन् । सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरू परेका छन् । प्राविधिकलाई छाक टार्न समस्या भएको खबर पढ्दा म निकै भावुक भएकी छु ।’

स्वस्तिमाले सबै प्राविधिकमा समस्या नभए पनि स्पट ब्वाइहरू बढी समस्यामा रहेको जानकारी आफूले पाएको बताउनुभएको छ । उहाँले प्राविधिकहरूसँग नजिक रहेको भन्दै यस्तो बेलामा सबैले सानो सहयोग गर्दा पनि ठूलो हुने उल्लेख गर्नुभएको छ । स्वस्तिमाले सहयोग अभियानका लागि ई–सेवा आइडी नै सार्वजनिक गर्नुभएको छ ।