एजेन्सी := भारतलाई को’भिड विरुद्धका सामग्री उपलब्ध गराउनुका साथै श्रीलंकालाई आर्थिक सहयोग गर्ने सम्मका कामबाट बंगला देशले आफूलाई पछिल्लो समय आर्थिक उन्नती गर्ने बलियो देशको रुपमा उभ्याउन थालेको छ । यसै साताको सुरुमा बंगलादेशले श्रीलंकालाई २०० मिलियन डलर सहायता गर्न सम्झौता गरेको छ । उक्त सहायता आर्थिक र स्वास्थ्य संकट झेल्दै गरेको श्रीलंकाका लागि ठूलो मद्दत पुगेको बताइन्छ ।
भारी वैदेशिक ऋणबाट थिचिँदै गरेको श्रीलंकाको राजनीति पनि अस्थिरता बाटै गुज्रिएको छ । यस वर्ष मात्रै श्रीलंकाको वैदेशिक ऋण ३ दशमलब ७ बिलियन डलर पुगेको छ । यस्तो अवस्थामा बंगलादेशले दिने आर्थिक सहायताले उसको आर्थिक अवस्था उकासिने अपेक्षा गरिएको छ । गत मार्च महिनामा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षेको बंगलादेश भ्रमणको क्रममा यस्तो सहायताबारे सहमति भएको थियो ।
२०१९ मा भएको चर्चमा बम हमलापछि र को’रो ना माहामारीसँगै श्रीलंकाको आर्थिक अवस्था गम्भीर समस्यामा फँसेको छ । जसले गर्दा पर्यटन उद्योग र अन्य क्षेत्र झन् कमजोर बन्दै गएका छन्। बंगलादेश भने त्यस्ता ४० देशको समूहमा परेको छ जुन देशहरुले भारतलाई को’रो नाको दोस्रो लहर वि’रुद्ध जुध्न राहत सहायता पठाएका थिए । मे १८ मा बंगलादेशले विभिन्न २ हजार ६ सय ७२ बक्स एन्टि भाइरल ड्रग्स र को’भिड नियन्त्रक सामग्रीहरु भारतलाई हस्तान्तरण गरेको थियो ।
त्यसभन्दा पहिले मे ६ मा नै ढाकाले भारतलाई १० हजार भायल्स रेम्डेसिभिर पठाएको थियो । बंगलादेशले यस आर्थिक वर्षमा ५ दशमलब ८ प्रतिशत जिडिपी बढाउने समेत अपेक्षा गरिएको छ । यही वर्षको अप्रिलमा अमेरिकन चेम्बर अफ कमर्सले ‘यूएस बंगला देश बिजनेश काउन्सिल’ स्थापना गर्यो । जसमार्फत् अमेरिकी लगानीकर्ताको लगानी सम्भाव्यता अवलोकन र दुई देशको व्यापार बढाउने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शेख हसिना नेतृत्वको सरकारले आफ्नो प्रतिद्वन्द्धी पाकिस्तान बाट यसको आर्थिक प्रगतिमा प्रशंसा समेत पाएको छ । पाकिस्तान कार्यक्रमका लागि विश्व बैंकका पूर्व सल्लाहकार अबिद हसनले भनेका छन् कि “पाकिस्तानका वर्तमान सरकार सहित हरेक सरकारले भीख माग्ने कचौरा लिएर विश्वभर गएका छन् । २०२० मा बंगलादेशको जिडिपी पाकिस्तानको भन्दा झण्डै दोब्बर होला भन्ने कुरा २० वर्षअघि सोच्न पनि सकिँदैनथ्यो ।यदी यस्तै रुपमा अगाडि गयो भने बंगलादेश २०३० मा आर्थिक रुपमा पावरहाउस बन्न सक्छ । यदी पाकिस्तानले यस्तै निराशाजनक अवस्थालाई जारी राख्यो भने अब २०३० मा हामीले बंगलादेशबाट आर्थिक सहायता खोज्ने सम्भावना छ ।
एसियाको नयाँ ‘रोयल बंगाल टाइगर’ :
विकासोन्मुख देशहरुका लागि अनुसन्धान र सूचना प्रणाली (आरईएस) का प्राध्यापक प्रवीर डेका अनुसार बंगलादेशको आर्थिक उन्नतिको मुख्य कारण भनेको बंगला देशले यूरोपेली संघको प्राथमिकता योजना (GSP)कार्यक्रम र अन्य व्यापार प्राथमिकताहरूबाट लाभहरू लिन गर्न जारी राखेको छ । डे ले त बंगलादेशलाई पछिल्लो समय एसियाको रोयल बंगाल टाइगरको संज्ञा समेत दिएका छन् ।
उनका अनुसार बंगलादेशले ईयूको जिएसपी स्किम बाट नियमित रुपमा आर्थिक लाभ लिन सक्षम रह्यो । जसबाट ढाकाले प्रसस्त राजस्व कमाउन सफल बन्यो । यससँगै बंगलादेशले रेमिटेन्स बाट पनि राम्रो रकम कमाउने गरेको छ । बंगलादेशले आन्तरिक रुपमा रेमिटेन्स मात्रै २०० बिलियन डलर कमाउँछ । साथै २०२१ मा मात्रै बंगलादेशले विदेशी मुद्रा भण्डारबाट ४५ बिलियन डलर कमायो । जबकि २०१० मा जम्मा ९ बिलियन डलर कमाएको थियो ।
विज्ञहरुका अनुसार बंगलादेश आफ्ना छिमेकीहरूसँग जिम्मेवार ढंगले व्यवहार गर्ने र उनीहरूलाई सहयोग पुर्याउने कुरामा विश्वास गर्छ। साथै अब छिमेकीहरूसँगको गहिरो एकीकरणलाई उसले हेरिरहेको छ । डे का अनुसार बंगलादेश हाल आसियानका ठूला देश हरूसँग व्यापार गरिरहेको छ । साथै आसियानका केही देशहरूसँग व्यापार सम्झौता गर्ने र कनेक्टिभिटी प्रोजेक्टमा सामेल हुनेमा बंगलादेशले विचार गरिरहेको डे बताउँछन् । -द प्रिन्टबाट




















