अमेरिकाले नेपाललगायत विश्वभरका देशलाई कोरोना विरुद्धको खोप सहयोग गर्ने।

काठमाडौं:= विश्वभर कोरोना भाइरसको महामारीविरुद्ध लड्नको लागि अमेरिकाले विभिन्न देशलाई कोरोना विरुद्धको
खोप सहयोग गर्ने निर्णय  गरेको छ।

जो बाइडेन-कमला ह्यारिस प्रशासनले बिहीवार नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको हो । नेपाललाई कति डोज उपलब्ध गराउने भन्ने चाहिँ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख छैन ।

नेपाललाई खोप उपलब्ध गराउन राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्नुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप सहायता उपलब्ध गराउने अमेरिकी घोषणाको स्वागत गर्नुभएको छ ।

ट्विटमार्फत प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद समेत दिनुभएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि खोप सहायताको घोषणाप्रति अमेरिकी समकक्षी एन्थोनी ब्लिंकेनलाई धन्यवाद दिनुभएको छ।