खाडी,मलेसियामा मरिरहेको नेपालीको चीत्कार कसले सुन्ने?प्रधानमन्त्रीलाई श्रमिकको खुल्लापत्र।

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू,,
मलेसियाबाट नमस्कार !

         म यहाँ अहिले सम्म सञ्चै छु त्यहा तपाई लाई पनि सञ्चै होला भन्ने कामना गर्दछु । मलाई थाहा छ मिडिया र जनताको हरेक मुख बाट आउने यस्ता शब्दले हजुरको हृदय कठोर र सहनयोग्य भैसकेको छ । कुवेत, दुवई, कतार, साउदी अरब, मलेशिया तथा खाडी मुलुकमा रोईरहेका नेपाली सन्तानको चीत्कार सहन तपाईं योग्य भैसक्नु भएको होला तर पनि मैले मेरा काप्न लागेका हात र रोएको हृदयले केहि शब्द लेख्ने प्रयास गर्दैछु । कोरोनाको कारण घर आउन चाहे पनि आउने व्यवस्था सहज नभएको अवस्थामा अहिले देश निकाला भएजस्तै व्यबहार गरिएता पनि हामीहरु नेपाली सन्तान हौ । हामीले  महिना न मर्दै पसिनाको घार काटेर रेमिट्यान्स भरेका छौ ।  गाई भैंसी र बाख्राको कर तिरेका छौ । निर्वाचनमा जिन्दावाद्को नारा लगाई गाउँ डुलेको थियो घर घर हात जोडि भोट माग्न सहयोग मागेका नेताहरु अहिले गुप्तवास जस्तै छन् । ठुला खोक्रा सपना देखाई हामिलाई प्रयोग गरिएतापनि तपाईंले निर्वाचन जिते पछि हामीले केही मागेनौ । स्वदेशमा केहि गर्न सक्ने वातावरण नभएर परिवारको स्थिती नाजुक भएकोले म बिदेशिनु परेको हो ।  म जस्ता अरु युवाहरुपनि एक छाक पेट भर्नसम्मको लागि राज्यबाट रोजगारको अवस्था सृजना नगेरेको र देशमा पेटपाल्न मुस्किल भएर बिदेशिनु परेको हो । हामिलाई नत्र गगनचुम्बी भवन चाहिएको थियो नत्र बिघौ खेत ।
सम्माननिय प्रधानमन्त्री ज्यु ,

म त्यत्तिकै बिदेशिएको हैन बच्चाले बिहान दुध माग्दा मैले दिन सकिन, स्कुलको फिस तिर्न सकिन, बैंकको ब्याज तिर्न सकिन, छिमेकी शाहुको ऋण तिर्न सकिन, महङ्गिले घरमा जाउलो खाने नुन र चामल किन्न सकिन, दशैको टीका जोर्न सकेन , तिहारमा बहिनीको मुख हेर्न सकेन, बा आमा को औषधि किन्न सकेन, श्रीमतीको लाज ढाक्न सकेन म रोजगारिको लागि रोए कराए गल्लिहरु सुते सरकारका दैलो दैलो चाहारे तर मेरो सुन्ने कोहि थिएन किनकी सरकार आफ्नै रवाफमा र खास खास कार्यकर्ता पाल्नमा व्यस्त थियो । केहि सीप नचलेर सयकडा ५ का दरले ब्याजमा पैसा लिएर मलेशिया हानिए त यता आएर थाहा पाए सरकार भएको देशमा त बोलाएर रोजगार दिने रहेछ्न, बच्चा तथा बृद्धहरु सरकारले पाल्ने रहेछ, गाँस,बाँस,कपास,रोजगार,स्वस्थ्य,शिक्षा र सम्पुर्ण आधारभुत आवश्यकताको जिम्मेवारी सरकारले लिने रहेछ । अल्पविकशीत राष्ट्रमा सरकारले सबै गर्न सक्दैन अफनो पाखुरा र पौरखले खानु पर्छ भनेर मैले फेरि चित्त बुझाए । गरिब जनताले पेट मारीकन कर ति¥यो रेमिट्यान्सले देशको अर्थतन्त्रमा सहयोग पुग्यो अब हाम्रो देश बन्छ हाम्रो छोराले खाडिमा बेल्जा हान्नु पर्दैन, विदेशीको गाली खानु पर्दैन, पौरख र स्वाभिमान बेची विदेशमा डुल्नु पर्दैन भनी हामिले  रात दिन मेहनत गरि देश र परिवारलाई सहयोग ग¥यौ ।

व्यवस्था परिवर्तन भएपनि शासकको शासन गर्ने शैली र मनस्थिति परिवर्तन नहुदा राज्यको अवस्था जहीको त्यही देख्नु परेको छ । हामीले दुख गरेर पठाएको रेमिट्यान्ससमेत राज्यबाट सदुपयोग भएन ।  तथापी राज्यसँग हाम्रो केही गुन्जायस थिएन र हामी बोलेनौ किनकी हामिलाई नेपाली भन्न पाए पुग्छ भन्ने जस्तो लाग्थ्यो । देश प्रतिको हाम्रो जिम्मेवारी हामिले निस्वार्थ निभायौ । अहिले कोरोनाको कारण  संसार थिलथिलो भएको अवस्थामा आफना नागरिकको सुरक्षा गर्ने दायित्व राज्य सरकारको हो अन्य देशका सरकारले आफना नागरिक स्वदेश फर्कारहेको छ तर हाम्रो देशको सरकार अझै पनि आफना नागरिक कसरी स्वदेश फर्काउने भन्ने विषयमा बेखबर छ । अहिलेको भयावह अवस्थामा सरकारबाट हामीले सुरक्षा र अपनत्व मात्रै खोजेका छौ । हामीलाई यसरी वेवारिशे नसम्झिदिनुहोस ।  हामी कुन देशको नागरिक भन्ने गरी अलमल नपारिदिनु होस, सम्माननिय प्रधानमन्त्री ज्यू ,

म जस्तै खाडी तथा अन्य मुलुकमा रहेका संक्रमीत तथा स्वस्थ सबैका परिवार होलान बच्चा होलान आमा बुवा होलान । हामिहरुले तपाईलाई खान बस्न मागेको छैन आफ्नो देश र माटोमा फिर्ता हुन चाहेको हो र यो नागरिकको मौलिक आधिकार हो । देशमा कोरोना नियन्त्रणमा आरबौ बजेट सङ्कलन गरियो तर समस्या जस्ताको तेस्तै छ । झण्डै २ महिना हुन लाग्यो नेपाल पनि लकडाउन भएको तर स्वदेशका नागरिकको स्वास्थ्यका लागि न त ठोस योजना देखियो, न त भारतमा रहेका नागरिकको लागि, न त हामी जस्तो खाडीमा रहेका नागरिकका लागि केहि त्यस्तो प्रभावकार ियोजना देखियो । वार्षिक बजेटका आधारभूत आवश्यकता तथा सिद्धान्तमा पनि म र जस्ताहरुको लागि केही देखे । म अनपढ र ब्यबस्थापन क्षमता कम भको मान्छेले पनि १० लाख भन्दा बढी जनसंख्या व्यवस्थापन गर्न सक्छु तर तपाईंलाई वैदेशिक रोजगार नेपाली फिर्ता ल्याउन के ले रोक्यो?? बिकास खर्च शून्य गर्नुहोस सबै बजेटको शिर्षकबाट लागानी स्वास्थ्य र व्यवस्थापनमा लगानी गर्नुहोस गाउघरको खाली घर स्कुल होटेलहरु सबै क्वारेन्टाइन बनाउनुहोस, ब्यारेकमा र तपाईंको मन्त्री लगायत उच्च पदस्थहरुका अघुवा पछुवा सुरक्षाकर्मि क्वरेन्टाईनको सुरक्षामा खटाउनुहोस, स्थानिय प्रतिनिधिलाई प्रत्येक ब्यक्तिको अवस्था मुल्यांकन गर्न लगाउनुहोस ।

सामाजिक स्वयंसेवक भर्ना गरि गाउँ गाउँमा सामाजिक दुरि नियन्त्रणमा पहल गर्नु होस , आसेपसे नातागोता राजनीति सबै त्यागी कोरोना नियन्त्रण अभियान गर्नुहोस । नाका नाकामा स्वयंसेवक परिचालन गर्नुहोस, कालो बजारी नियन्त्रण गरि गोदामको उचित मूल्य तिरी सरकारबाट दैनिक उपभोग सामान बेचबिखन गर्नुहोस, पैसा छदैछ , कर्णाली पुग्न हेलिकप्टर जहाज छदैछन ,स्वास्य सामाग्री छदैछ , सुरक्षाकर्मि छ्दैछ्न फेरि पनि आफ्ना नागरिक उद्दार गर्न के को डर ? हाम्रो बिकास २ वर्ष पछि परे के भयो र प्रधानमन्त्री ज्यु ?? जनता बाचे पो तपाईंको अस्तित्व रहन्छ  र जित हुन्छ यदि छ लाख खाडिमा अस्तायो भने तपाईंको जितको आगडी पछाडि नाच्ने को हुन्छ ?? बिधुवा श्रीमती, बृद्ध आमाबुवा , आनाथ छोराछोरीहरुको सराप लाग्छ । हामिले वारम्वार भनि राखेका छौ हामिले खान बस्न मागेको हैन आफ्नो देश मागेको हो ता कि मरेता पनि हाम्रो देशमै मरियो भनि आत्मालाई सुकुन मिलोस ।
सम्माननिय प्रधानमन्त्री ज्यू ,

तपाईं सँग लगानी छ श्रोत छ सार्मथ्य पनि छ तर तत्परता खै ? सम्पुर्ण वैदेशिक रोजगारको शिलशिलामा संसार भरी रहेका नेपालीहरुको तर्फ बाट तपाईं देशको प्रधानमन्त्री तथा बुजरुक भएको नाताले हामी १० औला जोडि बिन्ती गर्न चाहन्छौ पहिले बिदेशमा  भिसाको म्याद सकिई अलपत्र रहेका नागरिकलाई देश फर्काउनु उनिहरुलाई परिवारको खाचो छ । यहाँ महिनौ दुख गरी बस्नु भनदा त २० दिन क्वारेन्टाइनमा मजाले बस्छौ । खाडिमा नेपालीको रोदन कुवेतमा चेलिको बिलौना, घरमा आमाको बिलौना भारतमा नेपालीको चीत्कार, आत्महत्या कठै  बरा !! बिदेशमा मर्नु पर्ने प्रमज्यू, हजुरको मन पोल्दैन ?? हामीले त अहिले सक्ने भनेको हजुरलाई अनुरोध गर्ने हो यदि हाम्रो अनुरोध हजुर लगायत मन्त्रीमण्डलले सुनेन भने पशुपतिनाथको किर्पा सबै सन्तान बिदेश मै न अस्ताउलान कोरोना जितेर फर्कियो भने भोट माग्न दैलोमा टेक्ने बेला तपाईंको मन्त्रीमण्डललाई धेरै महंगो पर्ने निश्चित नै छ ।
अन्तमा सम्माननिय प्रधानमन्त्री ज्यू ,
आफ्नो देश र देशका नागरीक प्रती उचित अभिभावक तथा उत्तरदायीत्व सम्झी तुरुन्त बिदेशमा अलपत्र नेपालीहरुको उद्दार गरि यो भयभित अवस्थालाई जितेर एतिहासिक प्रधानमन्त्री बन्नुहुने छ भन्ने झिनो आशा छ र यसका लागि शुभकामना दिन चाहन्छु ।

हजुरको शुभचिन्तक तथा नेपाली नागरिक ।
वाशुदेव भट्ट
भिमदत्तनगर कंचनपुर
हाल मलेसिया……….