मलेशियामा दुई वर्षे राजनीतिक संघर्ष

क्वाललम्पुर । मलेशियामा ६० वर्षदेखि सत्तामा रहेको पार्टी गत निर्वाचितमा पराजित हुँदा त्यसलाई एउटा ऐतिहासिक मानिएको थियो । त्यहाँ दुई वर्षभन्दा कम समयमा सरकार ढलेको छ र त्यही पुरानो पार्टी सत्तामा फर्किएको छ । मलेशियामा परिवर्तनको आशा उत्पन्न गराउने गठबन्धन किन यति चाँडै ढल्न गयो त ? अभूतपूर्व राजनीतिक अस्थिरता र अनिश्चिततापछि मलेशियामा नयाँ प्रधानमन्त्रीले पदभार ग्रहण गरेका छन् ।मुहिइद्दिनका यासिन एक सरल नेता हुन् जसलाई सन् २०१६ मा सत्तामा रहेको यूएमएनओले पार्टीबाट निष्काशित गरेको थियो । 

उनले महाथिर मोहम्मद र अन्वर इब्राहिमजस्ता चर्चित नेतासँग मिलेर पाकातान हारापन (पीएच) नामक बहुजातीय गठबन्धन बनाएका थिए । उनीहरूले भ्रष्टाचारविरुद्धको आक्रोशलाई आफ्नो मुद्दा बनाए । त्यसबाट पहिलोपटक यूएमएनओको नेतृत्वमा रहेको बारिसान नासिओनाल (बीएन) गठबन्धनले पराजित भयो । तर दुई साताअघि मुहिइद्दिनकाले ३० भन्दा बढी सांसदसँग मिलेर सरकार ढाले र आफ्नो पुरानो पार्टीसँग गठबन्धन गरे । ‘तपाईंहरूलाई दुःखी बनाएकोमा म क्षमा माग्छु । मैले साँच्चिकै उनीहरूलाई रोक्ने प्रयास गरेँ,’ सन् २०१८ मा जोहोर निर्वाचनक्षेत्रमा मुहिइद्दिनको दलबाट विजयी भएका युवानेता सइद सादिकले ट्वीट गरे । ‘यो पूर्णरूपमा विश्वासघात हो, ‘वकिल तथा अधिकारवादी फादिया नाद्वा फिक्रीले भनिन्, ‘जनताले यसका लागि मत दिएका होइनन् ।’ 

निर्वाचनका लागि बनेको पाकातान गठबन्धनमा विभिन्न पार्टी थिए । मलेहरूले पुरानो पार्टीलाई समर्थन नगरेर नयाँ गठबन्धनलाई समर्थन गर्नुमा पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदको भूमिका महत्त्वपूर्ण थियो । वर्षौँदेखि भ्रष्टाचार र शक्तिको दुरुपयोगविरुद्ध अभियान चलाउँदै आएका नागरिक समाज सञ्जालले पनि पाकातानलाई समर्थन गरेका थिए । मतदान दिन अर्थात् २०१८ को मे ९ सम्म बारिसानलाई हराउन सकिन्छ भन्ने कुरामा उनीहरू ढुक्क थिएनन् । तर उनीहरूमा उत्साह थियो । तत्कालीन प्रधानमन्त्री नजिब रजाक र उनकी पत्नी रोज्मा मान्सरलाई चोरको संज्ञा दिँदै महाथिर चुनावी अभियानमा व्यंग्यात्मक रूपमा प्रस्तुत भएका थिए । 

जीवनयापनको बढ्दो खर्च र मूलतः अलोकप्रिय बिक्रीकरजस्ता विषयलाई विपक्षीहरूले उठाए । प्रायः सरकारको समर्थनमा रहने मलेहरूको मत तीनतिर अर्थात् बारिसन र पीएएस नाम गरेको इस्लामिक पार्टीमा बाँडियो । मतदान केन्द्रमा यूएमएनओको सदस्यतापत्र देखाइरहेका तर विपक्षीलाई भोट हाल्छौं भन्ने मतदाता भेट्दा केही परिवर्तन हुन लागेको संकेत देखिएको थियो । नजिबले चुनाव हारेपछि हर्षोत्सव मनाइएको थियो । 

आफ्नो पार्टीबाट निर्वाचन हार्ने उनी पहिलो प्रधानमन्त्री थिए । त्यसो भए पाकातान गठबन्धनले बनाएको सरकारमा के मिलेन ? यो गठबन्धनको यात्रा सहज थिएन । महाथिर र अन्वरबीच विगत तीन दशकअघिदेखि तिक्ततापूर्ण सम्बन्ध थियो । उनी कुनै बेला महाथिरका घोषित उत्तराधिकारी थिए । तर आफ्नो जेलजीवनको पहिलो पाँच वर्षका लागि महाथिरलाई जिम्मेदार भएको अन्वरको आरोप थियो ।

तर ती दुईले तिक्तता मेटे अनि चुनाव जिते निर्वाचन अभियानको नेतृत्व गरेका महाथिर प्रधानमन्त्री बन्ने कुरामा सहमति गरे । सहमतिमा दुई वर्षपछि प्रधानमन्त्रीको पद अन्वरलाई हस्तान्तरण गर्ने उल्लेख थियो । तर त्यो ठ्याक्कै कहिले हुन्छ र कसरी गरिन्छ भन्ने कुरा स्पष्ट थिएन । गठबन्धनमा व्यक्तित्वको लडाइँ पनि थियो । र उनीहरूबीच नराम्रो आर्थिक परिस्थितिसँग कसरी संघर्ष गर्ने भन्ने विषयमा फरक मत थियो । 

सन् १९५७ मा स्वतन्त्र भएदेखि नै मलेशियामा जातीय राजनीति हाबी छ । देशमा मलेहरूको जनसंख्या आधाभन्दा बढी छ । सबैभन्दा ठूलो संख्यामा रहेका अल्पसंख्यकमा चिनियाँ पर्छन् । उनीहरू ब्रिटिश औपनिवेशिक शासनका बेला मलेशिया आएका थिए । सन् १९६९ मा भएका जातीय दंगाले सरकारलाई मलेहरूको पक्षमा नीति बनाउन प्रेरित गरेको थियो । यूएमएनओले आफूलाई मलेहरूलाई हेर्ने पार्टीका रूपमा परिभाषित ग¥यो । 

सन् १९८० को दशक देखि १९९० को दशकसम्म महाथिरको २२ वर्षे शासनमा मलेहरूप्रति उदार परियोजना देखिएका थिए । ती आशालाग्दो निर्यात केन्द्रित वृद्धिमा आधारित थिए । दुर्बल पक्ष भनेको बढ्दो नातावाद र भ्रष्टाचार थियो । तर मलेहरू अझै पनि सरकारी उदारताको आशा राख्छन् । 

अल्पसंख्यक चिनियाँहरूको समेत प्रतिनिधित्व रहेको पाकातानले त्यो उदारता राख्दैन भन्ने डरले गर्दा पनि मलेहरूमा आंशिक रूपमा उनीहरूप्रति समर्थन घट्यो । एउटा सानो क्याफे बनाइरहेका मोहम्मद अमिन आफू र आफ्ना छिमेकी मलेहरूलाई पहिले जस्तो ध्यान नदिइएको महसुस भएको बताउँछन् । मोहम्मद तार्मिजीका अनुसार गरिबहरूले जीवनयापनका लागि लाग्ने खर्च धान्न सकिरहेका छैनन् । राज्यकोषबाट ठूलो परिमाणमा रकम हराएको र त्यसको केही भाग नजिबको व्यक्तिगत बैंकखातामा रहेको खुलासाले यूएमएनओको प्रतिष्ठामा धक्का लागेको भए पनि अर्थतन्त्रको अवस्थाबारे सर्वसाधारणको असन्तुष्टिलाई उक्त पार्टीले मुद्दाका रूपमा उठायो । 

उपनिर्वाचनमा ६ मध्ये पाँचमा पाकातान आश्चर्यजनक रूपमा पराजित भएको छ । यसैबीच प्रधानमन्त्री पदका विषयमा विवाद सुरु भयो । अन्वर र उनका समर्थकहरूले आगामी मे महिनामा सत्ता सम्हालेको दुई वर्ष पुग्ने भन्दै पद हस्तान्तरण गर्नका लागि मिति तोक्न दबाव दिए । तर महाथिरले त्यसो गर्न अस्वीकार गरे । अन्वरको समूह मौन बस्यो । गठबन्धनमा बढिरहेको तनावले मुहिइद्दिनलाई छुट्टिएर अर्को पक्षसँग मिल्न प्रेरित ग¥यो । पछिल्लो ४० वर्षमा मलेशियामा देखा परेका संकटमा जस्तै जे भइरहेको छ त्यो सब महाथिरले आफ्ना लागि गरिरहेका छन् भन्ने धारणा मलेशियाभित्र र बाहिर बनाइयो । सबैलाई चकित पार्नेगरी उनले राजीनामा दिए । धेरै दलले उनलाई सत्ता नछाड्न आग्रह गर्दै आफ्नो समर्थन रहेको बताए । 

अन्वरले पनि आफ्ना समर्थकलाई उनकै शब्दमा ‘गठबन्धनविरुद्ध भएको कू’मा महाथिरको हात नरहेको बताएका थिए । तर सप्ताहान्तसम्ममा ९४ वर्षीय महाथिरको आकलन गलत भएको स्पष्ट भइसकेको थियो । मलेशियाका संवैधानिक राजा अब्दुल्लाले नयाँ सरकार गठन गर्न चाहिने संख्या मुहियिद्दिनसँग रहेको भन्दै उनलाई मलेशियाको आठौं प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गराइने घोषणा गरे । महाथिरले यसलाई चुनौती दिएका छन् । संसद् सञ्चालन भएपछि उनले नयाँ सरकार ढाल्ने प्रयास गर्न सक्छन् ।