एनपिएल अक्सन: १५० जना खेलाडीको अन्तिम सूची घोषणा,श्रेणी ‘ए’ मा आठ खेलाडी।

काठमाडौं := घरेलु मैदानमा आयोजना हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा १५० जना खेलाडीको अन्तिम सूची घोषणा गरिएको छ ।

४५८ जना खेलाडीले दर्ता गरेकामा नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार १५० खेलाडीको अन्तिम सूची घोषणा गरेको हो । एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डअनुसार खेलाडीको अन्तिम सूची घोषणा गरिएको क्यानले जनाएको छ ।

खेलाडीहरूलाई विभिन्न श्रेणीमा विभाजन गरिएको छ । यसमा श्रेणी ‘ए’ मा आठ खेलाडी छन् । यसमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषवाकर, मोहम्मद आदिल अन्सारी, सूर्य तामाङ र सुमन गौतम हुनुहुन्छ। त्यस्तै, श्रेणी ‘बी’ मा अनिल खरेल, अर्जुन कुमाल, दीपक बोहोरा, कृष्ण कार्की, प्रज्ज्वल थापालगायत ३५ जना तथा श्रेणी ‘सी’ मा १०७ जना खेलाडी छन् ।

एक वर्षअघि भएको नेपाल टी-२० लिगका क्रममा फिक्सिङ गरेको आरोपमा प्रमाण नपुगेको भन्दै केही समयपछि आदिललाई अदालतले सफाइ दिएको थियो । केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले पनि सबै प्रतिबन्ध हटाएको थियो ।

श्रेणी ‘ए’ मा आठ जना, ‘बी’मा ३५ तथा ‘सी’ मा १०७ खेलाडी छन् । तर, अक्सनमा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ । एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न थिए । अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ खेलाडीलाई निरन्तरता दिएका छन् ।

अब मिनी अक्सनमा श्रेणी ‘ए’ का चार, ‘बी’ २३ र ‘सी’ १० खेलाडीमा मात्र बोली लाग्नेछ । फ्रेन्चाइज टोलीले श्रेणी ‘ए’ का खेलाडीका लागि १०-१५, ‘बी’ का लागि ५-१० तथा ‘सी’ मा रहेकाका लागि दुईदेखि पाँच लाख रुपैयाँ खर्चिन पाउनेछन्। प्रतियोगिताका लागि साउन २४ गते अक्सन हुने क्यानले जनाएको छ ।