[ तिलोचन गौतम ]
क्वालालम्पुर:= मलेसिया रोजगारी पुर्ण रुपमा खुल्न नपाउँदै विभिन्न किसिमका समस्या देखिन थालेको छ । विभिन्न समस्या मध्यको एक प्रमुख समस्या हुन भिजिट भिसामार्फत ठगी । पछिल्लो समय भिजिट भिसाको नाममा मलेसियामा प्रवेश गर्ने नेपालीहरूको संख्या उल्लेख्यरूपमा बढ्दै गएसंगै ठगी धन्दा पनि मौलाउँदै गएको छ। वैधानिक प्रक्रियाबाट श्रमिक आउन सक्ने प्रणाली सुस्त रहेको अवस्थामा एजेन्ट र दलाल समूहहरूले सामाजिक सञ्जालमार्फत ‘छोटो समयमै विदेश पुग्ने’ र ‘उत्कृष्ट पारिश्रमिक’को लोभ देखाई नेपाली युवाहरूलाई भिजिट भिसामा मलेसिया ल्याउने क्रम तीव्र बनाएका छन्।
विशेषगरी तेस्रो मुलुक हुँदै मलेसियामा कामको खोजीमा आउने नेपालीहरू आप्रवासन नीतिको उल्लंघन गर्दै मलेसिया प्रवेश गरिरहेका छन्, जसले मलेसियाको सुरक्षा र सामाजिक संरचनामा थप चुनौती सिर्जना गरिरहेको छ । भिजिट भिसाको बहानामा मलेसिया प्रवेश गर्ने नेपालीहरूमध्ये धेरैजसोले कानुनी जटिलता भोगेर स्वदेश फिर्ता भइसकेका छन् भने, ठूलो संख्यामा नेपालीहरू रेस्टुरेन्ट तथा घरेलु कामदारको रूपमा कार्यरत अवस्थामा भेटिएका छन्। यिनीहरू ‘ओभरस्टे’ गरी अवैध रूपमा बसोबास गरिरहेको पाइएको छ।
मलेसियाली अध्यागमन विभागले हालैका दिनहरूमा यस प्रकारका विदेशी नागरिकहरूलाई विमानस्थलबाटै फिर्ता गर्ने, विशेष निगरानी अभियान (रेड) सञ्चालन गर्ने, र आप्रवासन ऐन उल्लंघन गर्नेहरूलाई जरिवाना, जेल सजाय तथा देशनिकाला (डिपोर्ट) गराउने कार्य तीव्र बनाएको छ।मलेसियास्थित नेपाली दूतावासले वैधानिक प्रक्रिया अपनाएर मात्र विदेश जानु उपयुक्त र सुरक्षित हुने भन्दै बारम्बार सचेतना अभियान सञ्चालन गरिरहेको छ। दूतावास स्रोतका अनुसार, “भिजिट भिसामा काम गर्न पाइँदैन। त्यस्तो प्रयास गर्नु गैरकानुनी मात्र होइन, दीर्घकालीन रूपमा गम्भीर समस्या निम्त्याउन सक्छ।”
दूतावासले नेपाली समुदायका सबै सरोकारवालाहरू सामाजिक संस्था, पत्रकार, बुद्धिजीवी तथा अगुवाहरूलाई मिलेर सचेतना फैलाउन आह्वान गर्दै आएको छ।विश्लेषकहरूका अनुसार, भिजिट भिसाको दुरुपयोग र अवैधानिक रूपमा कार्यरत नेपालीहरूका कारण नेपाली श्रमिकहरूको अन्तर्राष्ट्रिय छविमा दाग लाग्ने खतरा बढेको छ। दीर्घकालमा यसले नेपालबाट श्रमिक लैजाने देशहरूको नीति कडा बनाउने र अवसर घटाउने सम्भावना रहेको उनीहरूको भनाइ छ।




















