एपीएफ क्लब अपराजित रहँदै एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा प्रवेश।

काठमाडौं := सशस्त्र प्रहरीको एपीएफ क्लब अपराजित रहँदै एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार बागमती प्रदेशलाई ७-० गोलले हराउँदै एपीएफ शीर्षस्थानका साथ अघिल्लो चरणमा पुगेको हो ।

नौ खेलबाट उसको २५ अंक भयो । एपीएफले आठ खेलमा जित र एकमा बराबरीको नतिजा निकाल्यो । नेपाल पुलिसँगको खेलमा भने एपीएफले बरबारी खेलेको थियो । नौ खेलबाट १० अंक जोडेको बागामती छैटौं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको शुक्रबारको खेलमा एपीएफलाई जित दिलाउन रश्मीकुमारी घिसिङले एक्दै चार गोल गर्नुभयो । अनिता बस्नेत र सविता रानामगरले एक-एक गोल गर्दा थप एक गोल बागमतीले आत्मघाती उपहार दिएको थियो ।

एपीएफसँगै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका र कोशी प्रदेशले दोस्रो चरणमा स्थान बनाएका छन् । एन्फाको आयोजनामा जारी प्रतियोगितामा १० टोली सहभागी छन् । शीर्ष पाँचले दोस्रो चरणमा स्थान बनाएका हुन् ।